भक्तपुर । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले ठुला उद्योगीले कर नतिर्ने साना किसानलाई मार पर्ने गरि बढाईएको करको विरोध गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघ र महिला उद्यमी संघद्वारा आयोजित पन्ध्र दिने बेहुली श्रृंगार तालिम समापनमा प्रमुख प्रजापतिले उद्यमी र सक्ने सँग लिएको करले मात्र नगरको विकास हुन् सक्छ खर्पनमा एक मुठ्ठा साग बेच्ने किसानसँग कर लिने नीति गलत भएको भन्दै यसको विरोध गरेका हुन् ।
भक्तपुरमा अवस्थित औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरुले नपामा कर तिर्दैनन् तर खर्पनमा साग बेच्ने सँग लिएको करले नगर चल्छ र उनले प्रतिप्रश्न गरे । उनका अनुसार भक्तपुरमा सञ्चालित उद्योगहरुले भक्तपुर नपालाई करिब ७४ लाख रुपैयाँ बराबरको कर तिर्न बाँकी छ ।
औद्यागिक क्षेत्रका उद्योगी व्यवसायीले कर नतिरेकै कारण त्यहाँको ढल निकास, बाटो व्यवस्थापन र सरसफाइमा नपाले जानाजान वेवास्ता गरेको उनको भनाइ थियो ।
‘आफूलाई उद्योगी व्यवसायी भनेर गर्व गर्ने तर नपालाई तिर्नुपर्ने कर भने नतिर्ने पनि कहीं हुन्छ ?’, प्रमुख प्रजापतिले प्रश्न गरे, ‘त्यसैले नपालाई कर नतिर्ने ठाउँमा नपाले पनि हेर्दैन भन्ने उदाहरण भक्तपुर औद्योगिक क्षेत्र देखाइरहेका छौं ।’
उनले नगरभित्रका करिब १७ हजार घरधुरीसँग मासिक २५ रुपैयाँ सफाइ कर लिएर सिंगो नगरको सफाइ गर्दै आएको स्पष्ट पारे । नपाले सफाइमा गरेको खर्च हिसाब गरे नगरवासीबाट उठ्ने कर कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने उनको भनाइ थियो ।
सरकारले हाल जनतालाई थप भार हुने गरी कर लगाउनु जनविरोधी कार्य भएको उनको भनाइ थियो ।
‘हरेक सञ्चारमाध्यममा स्थानीय तहले जेमा पनि कर लिएको समाचारमात्रै देखिन्छ’, प्रमुख प्रजापतिले भने, ‘कर जनतामैत्री हुनुपर्छ । जनतालाई थप भार हुने गरी कर लगाउनु जनविरोधी कार्य हो ।’
भक्तपुर नपाले कर नबढाई उल्टै छुट दिएको उनले जानकारी दिए । उनका अनुसार घरजग्गाको करमा पचास प्रतिशत छुट दिइएको छ । त्यस्तै सरकारले १२ प्रतिशत भनेको घरबहाल करलाई १० प्रतिशतमा झारिएको उनको भनाइ थियो ।
तालिममा सहभागी व्युटिसियनहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख प्रजापतिले नगरभित्रका उद्योगी व्यवसायीलाई आफूअनुकूल कर तिर्ने गरी करको वर्गीकरण गरिएकोसमेत बताए ।
‘कोही क वर्गबाट ख वर्गमा झरेर कर तिर्नसक्ने व्यवस्थासमेत गरेका छौं’, उनले भने, ‘कोही म ख वर्गमा बस्दिन क वर्गमा उक्लिन्छु र सोहीअनुसार कर तिर्छु भन्न पनि पाउँछन् ।’
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजालगायतले भक्तपुरको पर्यटनलाई घरेलु तथा साना उद्योगसँग एकाकार गरी लान आग्रह गरे ।
उनीहरुले घरेलु तथा साना उद्योग र यसका मौलिक उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा भक्तपुर नपाले सहयोग गर्नुपर्ने माग गरे ।