भक्तपुर । एचआईभी घोषणापत्र जारी गरिएको छ ।
एचआईभी र लागु औषध पूनस्थापनाको काम गर्दै आएको सुरुवात नामक संस्थाले भक्तपुरमा आयोजना गरेको एचआईभी संक्रमित ब्यक्तिहरु र लक्षित समुदायका लागि काम गर्ने गैरसरकारी सहायताका लागि आय आर्जन सम्बन्धि राष्ट्रिय सम्मेलन २०७५ ले एचआईभी भक्तपुर घोषणापत्र जारी गरेको हो । देश भरका १० वटा एचआईभीसंग काम गर्ने संस्था र देशभरका विभिन्न जिल्ला वाट प्रतिनिधित्व गर्ने ३५ जना एचआईभी संक्रमितहरुको भेलाले एचआईभी घोषणपत्र जारी गरेका हुन् ।
जारी गरिएको भक्तपुर घोषणपत्र चार बुँदे रहेको छ । घोषणपत्रमा संक्रमितमा न्यून आय को घेरा सामाजिक र आर्थिक विकासमा जोड दिने , स्थानिय स्रोत तथा साधनको प्रयोग गरि आत्मनिर्भरताका लागि कृषि तथा अन्य आय आर्जनको विषयलाई जोड दिने , सिप विकासका कार्यक्रमहरु थालनी गर्ने र आत्मनिर्भरता बनाउन दिगोपनाको सुनिश्चितता गर्नका लागि बहु पक्षिय सहकार्यका लागि सवैमा अपिल गर्ने लगाएतका रहेको छ ।
एचआईभी भई सके पछि उनीहरुले समाजमा भोग्नु पर्ने लान्छनाको विषय हाल सम्म पनि रहेतापनि उनीहरुको आर्थिक अवस्थालाई नै मध्यनजर गर्दै अगाडी बढन नसके संक्रिमितहरुको अवस्था झन भयावह हुने भएका कारण उनीहरुको आर्थिक अवस्था सुधारका लागि भेलाले उक्त घोषणापत्र जारी गरेको आयोजक संस्थाका अध्यक्ष राजेश दिदियाले बताए । दिदियाका अनुसार हाल अधिकांस एचआईभी पिडितहरु अरुमा नै भर पर्नु पर्ने तथा उनीहरुको बालवालिकाको अवस्था झन भयावह भएका कारण स्थानिय सरकार प्रदेश सरकार र केन्द्रिय सरकार सवैले उनीहरुको आर्थिक स्तिर उकास्ने काममा जोड दिनु पर्ने उनको भनाई थियो ।
एक दिन चलेको उक्त कार्यक्रममा सहभागीहरुले आफूले रोग संग डराउने भन्दा पनि अरुलाई यो रोगले संक्रमण हुनबाट बचाउने अभिमुखिकरण एवं लागि सकेकाहरुलाई कसरी समाजमा पुनस्थापना गर्ने भन्ने विषयमा आफूहरुले काम गर्दै आएको बताएका थिए । उनीहरुले विषेत उमेर हुँदा नै लागेको रोगका कारण आपूmहरुको आर्थिक जीवनमा भएको भयावह अवस्थालाई सुधार गर्न सुरुवात, यएचफले लगायतका संस्थाले दिएका विभिन्न आर्थिक उपार्जनका तालिमले अहम भुमिका निभाएको बताएका थिए ।
घोषणापत्रको पूर्ण विवरण
एचआईभी संक्रमित व्यक्तिहरु र लक्षित समुदायका लागि काम गर्ने गैरसरकारी संस्थाहरुको सहायताका लागि आयआर्जनसम्बन्धी राष्ट्रिय सम्मेलन २०७५, भक्तपुरले जारी गरेको भक्तपुर घोषणापत्र
भूमिका
एएचएफ अनुदान कोषको सहयोगमा यस सुरुवात संस्थाद्वारा एचआईभी संक्रमित व्यक्तिहरु र लक्षित समुदायका लागि काम गर्ने गैरसरकारी संस्थाहरुको सहायताका लागि आयआर्जनसम्बन्धी राष्ट्रिय सम्मेलन २०७५, मिति २०७५ साल आश्विन २ गतेका दिन सफलतापूर्वक सम्पन्न गरियो ।
आयआर्जन (आईजी) र कृषि खेती वा नियमित कामबाट आयको स्रोत हुनु प्रत्येक व्यक्तिको लागि गुणस्तरीय जीवनयापन जीवनयापनका क्रममा महत्वपूर्ण छ । विपन्न र विशेषगरी एचआईभी संक्रमितहरुको जीवन बचाउन प्रत्यक्ष रुपमा अति प्रभावकारी उपचार पद्घति (HAART थेरापीको) उच्चत्तम प्रयोग जोडिएको छ ।
एएचएफ अनुदान सहयोगमा सन् २०१५ को भूकम्पपछि राष्ट्रिय एचआईभी एड्स महासंघ (NAP+N) र अन्य साझेदारहरुले उपलब्ध गराएको स्रोतहरुको माध्यमबाट एचआईभी संक्रमितहरुको उद्यमशीलता, सीप र आयआर्जनको पहँुचमा सुधार गर्न सुरु गरेकोमा त्यसबाट सकारात्मक नतिजा तथा परिणामहरु देखिन थालेका छन् र यसको गतिलाई निरन्तर जारी राख्न आवश्यक छ । ती सफलताका कथाहरुलाई सम्मेलनका दौरान प्रस्तुत गरियो । साथै उक्त विषयका समाचार र सफलताका कथाहरु सामाजिक सञ्जाल र स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुमा पनि उपलब्ध छन् ।
एचआईभी संक्रमितहरु र उनको परिवारको बीच सीप र आयआर्जनकोे सबल वातावरण तयार पार्न र निरन्तर सहयोग जारी राख्न सहभागीहरुको अनुभव र सिकेका पाठहरु उपयोगी हुन सक्छन् । जसले गर्दा उद्यमशीलता, सीप र आयआर्जनका कृयाकलापहरुमा वृद्घि हुनसक्छ । फलस्वरुप एचआईभी संक्रमितहरु र तिनको परिवारले समुदाय र देशको सामाजिक तथा आर्थिक विकासमा पनि भूमिका खेल्न सक्छन् ।
एचआइभी संक्रमितहरु र तिनको परिवारका लागि आयआर्जनको वातावरण सुदृढ बनाउने खालका कार्यक्रम र सहयोगको अति महत्वपूर्ण भुमिका रहन्छ । जसलाई विगतमा देखिएका केही उदाहरणहरुले पनि पुष्टि गर्दछन् ।
एचआईभी संक्रमित र उनको परिवारलाई लक्षित गर्दै यो ऐतिहासिक कार्यक्रमले एचआईभी संक्रमित र सम्बन्धित व्यक्तिहरूकै अनुभवसहित विभिन्न एचआईभी संक्रमित व्यक्तिहरुले नेतृत्व गरेका संगठनबाट प्रतिनिधिमूलक सहभागिताको साथ एचआईभी र एड्सविरुद्ध लड्नको लागि नयाँ दिशा दिँदै निम्न चारबुँदे घोषणापत्र जारी गरिएको छ ।
बुँदा नं १ : एचआईभी र न्यून आयको घेरा तोड्नका लागि विशेषतः एचआईभी संक्रमितहरुका लागि सामाजिक सुरक्षा रणनीतिहरुलाई ध्यानमा राख्दै आर्थिक र सामाजिक विकास नीतिहरु विकास गर्दै अवलम्बन गर्ने सम्बन्धमा हाम्रो निरन्तर सहभागिताका लागि हामी प्रतिबद्घता व्यक्त गर्दछौं ।
बुँदा नं २ : हामी समुदायस्तरको एचआईभी सपोर्ट समूहहरु सुदृढ गर्दै बलियो बनाउन स्थानीय स्रोतहरु परिचालन गर्ने र आत्मनिर्भरताका कार्यक्रमहरु सञ्चालनका लागि कृषि र आयआर्जन कार्यक्रमको प्रभावकारी तवरले लागू गर्न सहयोग पु¥याउने प्रतिबद्घता व्यक्त गर्दछौं ।
बुँदा नं ३ : एचआईभी संक्रमितहरुका लागि उनीहरुको सीपमा आधारित अवसरहरु सिर्जना गर्न र उपयुक्त क्षमता र सीप विकास गर्ने खालका कार्यक्रमहरु प्रदान गरी स्वरोजगारका अवसरहरुका लागि आवश्यक आर्थिक सहयोगका लागि सम्बन्धित सबैमा अपिल गर्दछौं ।
बुँदा नं ४ : एचआईभी संक्रमितहरु र उनीहरुद्वारा नेतृत्व गरिएका संस्थाहरुमा आर्थिक सुधार तथा वृद्घि विकासका गतिविधि र कार्य दक्षताका आधारमा आत्मनिर्भरताका कार्यक्रहरुको दिगोपना सुनिश्चित गर्नका लागि बहुपक्षीय सहकार्यका लागि सम्बन्धित सबैमा अपिल गर्दछौं ।
हामी यस एचआईभी र एड्सविरुद्घको लडाइँमा सहकार्य–सहयोगका लागि सम्पूर्णलाई हाम्रो गहिरो आभार तथा धन्यवाद व्यक्त गर्दछौं । हामी विशेष रूपमा एचआईभी संक्रमित व्यक्तिहरुको सशक्तीकरण र देशभर उनीहरुद्वारा नेतृत्व गरिएका सामुदायमा आधारित संगठनहरुको समर्थनमा निरन्तर समर्थनका लागि AHF/AHF Nepal लाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं ।
हामी यो घोषणपत्रका सबै बुँदाहरु लागू गर्नका निम्ति सबै तहका साझेदारहरू, नागरिक समाज र सरोकारवालाहरुलाई आपसी सहकार्य र सहयोगको लागि आवश्यक कदमहरु तुरुन्त चाल्नका लागि आह्वान गर्दछौं ।







































