भक्तपुरेलाई नै डाइलासिस गराउन पालो पाउनै मुस्किल

461
भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरेलाई नै डाइलासिस गराउन मुस्किल हुन् थालेको छ । देश भरबाट आएका बिरामीको चापका कारण सेवा नपाएर फर्कने बिरामीको संख्या बढिरहेको अस्तालले जनाएको छ ।
सरकारको एकमात्रै मृगौला उपचार केन्द्र भक्तपुरमा नै भएपनि नयाँ विरामीले भने भक्तपुरमा सेवा पाउन नसकी काठमाण्डौं नै धाउन बाध्य भएको अस्पताल आफैले पनि सुईकारेको छ ।
केन्द्रमा दिनहुँ ३० जना नयाँ बिरामी डाइलासिस गराउन भनी आउँछन् पुरानोको नै लाईन थेगी नसक्नु छ कसरी हामीले सेवा दिन सक्नु अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रले लामो प्रतिक्षा सूचीमा रहेकालाई छाडेर नयाँ बिरामीलाई डाइलासिस दिन नसकिरहेको उनले बताए ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा डाइलासिस गर्न पालो पर्खनेहरुको संख्या आजसम्म तीनसय पुगेको जानकारी दिए । यसरी पालो पर्खेका बिरामीले महिनादिनमा पनि पालो पाउने सम्भावना कम छ ।हामी सँग ३५ वटामात्रै डाइलासिस मेसिन छन् जति उपयोग गरेपनि यो लाईनलाई घटाउन महिना दिन लाग्ने पक्का छ नयाँलाई सेवा दिन नसक्नु हाम्रो बाध्यता हो उनले बताए ।
पालो पर्खेकासँगै आकस्मिक रुपमा आउने बिरामीलाई बाहेक नयाँ बिरामीलाई डाइलासिस गर्न केन्द्रसँग ठाउँ नभएको डा. श्रेष्ठले बताए ।
डाइलासिस गर्न सक्ने क्षमता भन्दा बढि विरामीको चाप रहेको कारण बिरामीलाई पनि फर्काउन बाध्य हुँदै आएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेल बताउँछन् ।
पोखरेलका अनुसार भक्तपुरस्थित केन्द्र पुग्ने भक्तपुरसँगै काठमाडौं उपत्यकाको मध्य पूर्वी क्षेत्रका जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बुका बिरामी बढी डाइलासिस सेवाबाट बञ्चित हुँदै आएका छन् ।
यी जिल्लामध्ये काभ्रेको धुलिखेल अस्पतालमा बाहेक अन्तका कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थामा डाइलासिस सेवा छैन । धुलिखेलमा पनि डाइलासिस गर्ने दुईटामात्रै मेसिन छन् । जसले पालो पाउन सजिलो छैन । त्यसमाथि काठमाडौं र ललितपुरको चापसमेत यसै केन्द्रमा बढेको कारण भक्तपुरकै भएपनि विरामीले पालो पाउन भने मुस्किल भएको उनी बताउँछन् ।
मृगौला फेल भई प्रत्यारोपण नभएसम्म बिरामीले समय समयमा डाइलासिस गरिरहनुपर्छ । पछिल्लो समय सरकारले डाइलासिस निःशुल्क गरेपछि केन्द्र पुग्ने बिरामीको संख्या दिनानुदिन बढिरहेको केन्द्रले जनाएको छ ।