गुठीको जग्गा किर्ते गर्ने प्रहरी फन्दामा

382

जनकपुर– गुठीको जग्गा किर्ते गरी बेच्न लागेको आरोपमा एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा बढी जग्गा किर्ते जालसाजी गरी मोही बनेका अशोक कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दाससित मिलोमतो गरी गुठी संस्थानको नाममा लालपूर्जा रहेको जग्गाको किर्तेगरी मोही महलमा शर्माले आफ्नो नाम र जग्गा धनीमा रत्नसागर गुठी लेखेकाे भेटिएकाे छ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित ज्ञानकुप संस्कृत विद्यालयसँगै रहेको दुईवटा बाटो भएको उक्त जग्गा ज्ञानकुपको भोगचलनमा रहेको छ।

तर, रत्नसागरका महन्थ बैकुण्ठले किर्ते जालसाजी गरी आफ्नो स्थानको नाम जग्गा धनी महलमा र आफ्ना मतियार शर्माको नाम मोही महलमा राखेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शर्मालाई पक्राउ गरी किर्ते जालसाजी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी आइतबार अदालतबाट म्याद थप गराइ अनुसन्धान सुरु गरेको छ।

प्रहरीलाई गुठी संस्थान र जिल्ला मालपोत कार्यालयले उपलब्ध गराएको श्रेस्तामा जग्गा धनीमा गुठी संस्थान धनुषा मात्र उल्लेख रहेको छ।

शर्मा सि.नं. १३५४–१५को  कि.नं. २८को २–८–१५ र सि.नं.१३५४/१४ को कि.नं. ६२ को  ०–२–११ को जग्गामा मोही बनेका छन्।

किर्ते गरिएको जग्गा बिक्री गर्नका लागि जनकपुरधामका दुई जना व्यवसायी श्याम डोकानिया र नवल मुरारकासँग ५५ लाख रुपैयाँ बैना बापत लिएको बताइन्छ। यद्यपि यसको दुवै पक्षले पुष्टि गरेको छैन।

प्रहरीले किर्ते जालसाजीको थप अनुसन्धान भइरहेको जनाउँदै दोषी देखिएका सबैमाथि मुद्दा चलाइने बताएको छ।

किर्ते जालसाजीको मुख्य नाइके मानिएका बैकुण्ठ दासले लालपुर्जा बदर नभएकोले बेचबिखन गर्ने अधिकार प्राप्त रहेको बताए।

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा प्रहरीले दबाब र प्रभावमा परेर पक्राउ गरेको आरोप लगाए।

दासले भने,‘प्रहरीले कसैको दबाब र प्रभावमा परेर यस्तो गरको हो, अदालतमा मुद्दा विचाराधीन रहेकाले प्रहरी कारबाहीको कुनै औचित्य छैन।’

बिरख कुट्टीको सम्पूर्ण जग्गा बेचेर बैकुण्ठ र शर्माले मासेका छन्। बैकुण्ठ दासले अन्य कुटीहरूको किर्ते गरी बेचेका जग्गाहरुको पनि छानबिन हुने बताइएको छ।