काठमाण्डौं । राजन कार्कीले लेख्नुभएको राजा, नव–बास्सा तथा शेखर ढुङ्गेलले लेख्नुभएको अतीतका सम्झनाः भैरव दाइको सय रुपैयाँ र म’ नामक पुस्तक विमोचन गरिएको छ ।
साहित्यकार एवं वरिष्ठ पत्रकार भैरव रिसाल राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी लगायतकाले शुक्रवार पुस्तक विमोचन गरेका हुन् ।
भैरव रिसालका नाता पर्ने शेखरले त्यसबेला सापट लिएको रु १०० लाई विश्षलेषण गरी तयार पारिएको भैरव दाइको सय रुपैयाँ र म नामक पुस्तकमा लेखकले अतीतका सम्झनाहरु कोर्ने जमर्को गर्नुभएको छ । सो पुस्तकमा २३ लेख छन् ।
त्यस्तै कार्कीको राजा, नव–बास्सामा नेपालमा राजतन्त्रको समाप्ति तथा त्यसपछि प्राप्त गणतन्त्र तथा विश्वका नेताहरु महात्मा गान्धी, लिक्वान यू, माओत्सेतुँग, आदिको सविस्तार वर्णन गरिएको छ ।
सो अवसरमा वरिष्ठ पत्रकार रिसालले शेखरजीले आफूसँग रु १०० सापट लिनुभएको बेला रु सयले आफ्नो जीवन गुजारा गर्न सक्ने स्मरण गर्दै अहिले पैसाको मूल्य अवमूल्यन भएकाले मानिसलाई जीवन जिउन कठिन भएको बताउनुभयो ।
आयोगका प्रवक्ता अन्सारीले इतिहाससँग जोडिएर आएको पुस्तकलाई पाठकले पढ्ने बताउँदै राजनीतिक उतारचढावका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै पूरा हुन नसकेको विचार राख्नुभयो ।
इतिहासकार डा सुरेन्द्र केसीले र दुवै लेखकले पुस्तकमा नेपालमा गणतन्त्र स्थापनापछि भित्रिएको विकृतिमाथि केलाउन खोजेको बताउनुभयो ।
पुस्तक समीक्षक तीर्थ कोइराला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, साहित्यकार नरेन्द्रराज प्रसार्इं, पुस्तकका प्रकाशक हीरेन्द्र ताम्राकारले राजतन्त्रको अन्त्यपछि नेपालको सीमाको रक्षा सरकारले गर्न नसकेको, नेपालको राजनीतिमा विकृति बढेको तथा नयाँ राजाहरुको जन्म भएको विचार व्यक्त गर्नुभयो ।






































