गौरीशंकरमा खाना पकाउने प्रतियोगिता

298

ललितपुर । महालक्ष्मी नगरपालिका २ इमाडोलमा रहेको गौरीशंकर इंगलिस बोर्डिंग सेकेण्डरी स्कुल अन्र्तगत सञ्चालित गौरीशंकर स्काउट ट्रुपका स्काउट भाईवैनीले आइतबार विद्यालय हातामै मिठो खानेकुरा पकाएर पुरस्कार जितेका छन् ।

३ वटा छात्रा र एउटा छात्र गरि ४ वटा समुहमा रहेर उनीहरुले विद्यालयको करेसाबारीमा चुल्हो बनाई दाउरा बालेर खाना पकाएका थिए ।

मकैको पिठोको ढिँडोदेखि, पुलाव, नेवारी खाना, सेकुवा, पनिर, दाल, भात र विभिन्न थरीका तरकारी पकाउनुका साथै गुन्द्रुकसमेत साँधेर शिक्षकहरुलाई खुवाएका थिए ।

३ वटा छात्राको समूहलाई पछि पार्दै छात्र आयुष न्यौपानेको चितुवा समूहले पहिलो पुरस्कार जित्यो भने कृतिका सुवेदीको मयुर समूह दोस्रो र प्रकृति केसीको कोइली समूह तेस्रो भएको थियो । सान्त्वना पुरस्कार जित्न सफल आस्मा खत्रीको परेवा समूहले मकैको ढिँडो पकाएर सबै शिक्षक र निर्णायकहरुको मन जित्न सफल भएको थियो ।

विद्यालयका वरिष्ठ प्रशासक नरहरि घिमिरे, पत्रकार तथा स्काउट गुरु बलराम प्यासी र अर्का स्काउट गुरु नेमा सिंह तामांगले निर्णायकको भूमिका निभाएका थिए भने विद्यालयकी प्रिन्सिपल लालकुमारी तामांग विष्ट, शैक्षिक प्रमुख उमेश पौडेल र अर्का स्काउट गुरु नरेश अवालेलगायतका शिक्षकहरुले स्काउटले पकाएको खानाको स्वतन्त्र मुल्यांकन गरेका थिए ।

विजयी स्काउट समूहलाई आगामी श्रीपञ्चमीका दिन विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार दिइने विद्यालयका वरिष्ठ प्रशासक नरहरि घिमिरेले बताए ।

समापनका अवसरमा पत्रकार तथा स्काउट गुरु प्यासी, विद्यालयको शैक्षिक प्रमुख उमेश पौडेल, अर्का स्काउट गुरु नरेश अवाले लगायतले विद्यार्थी आफैंले खाना पकाउनुको महत्वबारे प्रकाश पारेका थिए ।

सगरमाथा आरोही स्काउट गुरु प्रकाशराज पाण्डेद्धारा सञ्चालित गौरीशंकर स्काउट ट्रुपमा हाल ८० भन्दा बढी स्काउट आवद्ध रहेका छन् ।