ऋण दिन नसक्ने अवस्थामा सिभिल, सेन्चुरी र एनआइसी एसिया बैंक, थप सात बैंक थपिँदै

310

काठमाडौं– सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ३ वटा बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेका छन्। ऋण दिन नसक्ने बैंकहरुमा सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र एनआइसी एसिया बैंक हुन्।

राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार पछिल्लो समय यी बैंकहरुको कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत पुगेका कारण थप ऋण दिन नसक्ने अवस्थामा पुगेको जनाएका छन्। बैंकहरुले सिसिडी रेसियो बढीमा ८० प्रतिशतसम्म बनाउन पाउँछन्।

त्यस्तै, पछिल्लो तथ्यांकअनुसार अन्य ७ बैंकको सिसिडी रेसियो ७९ प्रतिशत पुगेकाले यी बैंकहरु पनि ऋण दिन नसक्ने अवस्थामा पुग्न लागेको उनले जानकारी दिए।

यी बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासको वित्तीय विवरणमा सिसिडी रेसियो ७९ प्रतिशत भन्दा उच्च रहेको देखिन्छ।

असोज मसान्तसम्ममा सिभिल बैंक ७९.९७, सेन्चुरी कमर्सियल बैंकको ७९.५ र एनआइसी एसिया बैंकको ७७.७८ प्रतिशत सिसिडी रेसियो थियो। राष्ट्र बैंक अधिकारीका अनुसार अहिले यी बैंकको सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ। ती अधिकारीका अनुसार पछिल्लो केही बैंकको सिसिडी रेसियोमा सुधार आए पनि अझै केही बैंकको भने सिसिडी रेसियो उच्च रहेको बताए।

बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार सिटिजन्स बैंक इन्टरनेसनल, मेगा बैंक नेपाल, जनता बैंक नेपाल, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी), माछापुच्छ्र्रे बैंक, सानिमा बैंकलगायतका बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको दखिन्छ। यी बैंकको सिसिडी रेसियो असोज मसान्तमा नै ७९ प्रतिशत भन्दा माथि थियो।

सिटिजन्स बैंकको ७९.६ प्रतिशत, मेगा बैंकको ७९.६१, जनता बैंकको ७९.५२, नेपाल बंगलादेश बैंकको ७९.४७, सिद्धार्थ बैंकको ७९.५ प्रतिशत र प्राइम बैंकको ७९.८० प्रतिशत सिसिडी रेसियो पुगेको थियो।

राष्ट्र बैंकले सिसिडी रेसियो ८० प्रतिशत भन्दा बढी पुगेका बैंकलाई कारबाही गर्नुपर्ने व्यवस्था छ। तर, राष्ट्र बैंकले कारबाही नगरेपछि बैंकहरुले ८० प्रतिशत सिसिडी रेसियो नघाएका छन् भने जोखिम न्यूनीकरणका लागि राखिएको २० प्रतिशत रकमबाट पनि ऋण लगानी गर्दै आएका छन्।nepallive