सरकारले जनहितको पक्षमा काम गर्न सकेन : निधी

325

भक्तपुर ।
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले सरकार दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको आज चाँगुनारायणमा उद्घाटन गर्दै उहाँले सरकारले जनहितको पक्षमा काम गर्न नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘यो ९,१० महिनाको अवधिमा सरकारले संविधान, सङ्घीयता, समाबेशीता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा यस बिरुद्ध रबैया प्रदर्शन गरिरहेको छ’ ।
हत्या,हिंसा,बलात्कार र महँगी बढ्दा पनि सरकार कानमा तेल हालेर बसिरहेको आरोप लगाउँदै कांग्रेस रचनात्मक रुपमा सकृय र सशक्त प्रतिपक्षका रुपमा प्रस्तुत हुनुपर्ने बेला आएको बताउनुभयो ।काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भएकाले अब आसन्न महासमितिको बैठक पछि काँग्रेस एक ढिक्का भएर अगाडि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।उहाँले काँग्रेसको आन्तरिक द्वन्द्वकै कारण काँग्रेस कमजोर भएको बताउँदै पार्टीभित्र आपसमा आक्रोस,कुण्ठा र दोषारोपण गर्नुभन्दा सरकारसँग टाढिदै गएका जनताको बिकल्प बन्ने गरी पुनर्जागरण अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।
उपसभापति निधीले काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, मिश्रित निर्वाचन प्रणाली शान्ति र अहिंसालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर लगायत देशभर जनप्रतिनिधिको रीक्त रहेको स्थानमा छिटो निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँगेसका नेता गगन थापाले सरकार बलियो भए पनि बरालिएको बताउनुभयो । पार्टीभित्र कठोरता र क्रुरतापुर्वक छलफल र चिन्तन गरी कांग्रेस बिगतमुखी मात्र नभएर एकजुट भएर नयाँ बाटो देखाएर अगि बढ्नुपर्नेमा जोड दिनुभयो ।एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा गैर सरकार संस्थासँग झुक्ने सरकारले राष्ट्रिय स्वाभिमान बचाउन नसक्ने उहाँले दाबी गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर निर्वाचन क्षेत्र नं. १ का सभापति जीवन खत्री,२ का सभापति नारायण खायमली लगायतले सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावाद चलाउन खोजेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुरका पूर्व अगुवाहरुलाई सम्मान गरिएको थियो । आईतबारसम्म चल्ने क्षेत्रीय सम्मेलनले बिभिन्न बुँदागत प्रतिवेदन, नीति र कार्यक्रम पारित गर्दै काँग्रेसको नीति, कार्यक्रम र सांगाठनिक संरचना पारित गर्ने बताईएको छ ।