ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ७ चाँगाथालीमा एकतल्ला बनेको बुद्ध विहारलाई साँढे दुई तल्लाको बनाउन चन्दा संकलन गर्ने उद्धेश्यले शनिबारदेखि सो विहारमा ५ दिने शान्ति—धर्मदेशना (वौद्ध धर्मअनुसारको पुजा) शुरु भएको छ ।
धर्मदेशनामा भिक्षु अश्वघोष महास्थवीरका साथै पञ्जासार स्थवीर, विमलो स्थवीर, नायक स्थवीर र खेम स्थवीर भन्तेले वौद्ध धर्मको कथा वाचन गर्नेछन् ।
चाँगाथली बुद्ध विहार तथा चाँगाथली क्लवका अध्यक्ष बाबुराजा महर्जनका अनुसार सो शान्ति—धर्मदर्शनाबाट ५० लाख रुपैयाँ भन्दा बढी नगद तथा जीन्सी चन्दा संकलन हुने अपेक्षा गरिएको छ ।
शान्ति—धर्मदेशना शुभारम्भ गर्नुअघि स्थानीय वौद्ध धर्मावलम्वीहरुले विहारदेखि चाँगाथलीका विभिन्न ठाउँको पदयात्रा गरेका थिए । धर्मदेशना सभामा पुलचोकका स्थानीय समाजसेवी सिद्धिबहादुर शाकय र श्रीमती चैत्रलक्ष्मी शाक्य तथा यज्ञरत्न शाक्यको तर्फबाट विहारलाई करीव १ लाख रुपैयाँबराबरको बुद्धमुर्ति हस्तान्तरण गरिएको थियो ।
बुद्ध विहार निर्माणका लागि २०६९ सालमा स्थानीय टिकामाया महर्जनबाट करीव १ करोड रुपैया मुल्य बराबरको ११ आना जग्गा दान दिएकी थिइन । हालको चलनचल्ती अनुसार सो जग्गाको मूल्य करीव २ करोड रुपैयाँ पर्छ ।
२०७२ सालको भूकम्पपछि सो ठाउँमा करीव २० लाख रुपैयाँको लागतमा एक् तल्ले विहार निर्माण भएको र बाँकी डेढ तल्ला थप गर्नको लागि नपुग ३४ लाख रुपैयाँ संकलन गर्न शान्ति धर्मदेशनाको आयोजना गरिएको हो ।
सो विहारमा एक तल्ला बनेपछि ललितपुर पुल्चोक निवासी समाजसेवीद्धय सिद्धि बहादुर शाक्य र मोतिलाल शिल्पकारबाट प्राप्त करीव ४ लाख मुल्य बराबरको सुनको जलपको बुद्ध मुर्ति स्थापना गरेर नियमित रुपमा बुद्ध पुजा सञ्चालन हुँदै आएको छ ।