१२ बुँदे घोषणापत्र जारी गर्दै बौद्ध सम्मेलन सम्पन्न

468

ललितपुर । १२ बुँदे घोषणापत्र जारी गर्दै आईतबार राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।
ललितपुरको स्टाफ कलेजमा देश भरका बौद्ध मार्गीहरु भेला भएर बौद्ध धर्म प्रर्वद्दनका खातिर १२ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा संस्कृति पर्यटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बौद्ध धर्म प्रवद्दनका लागि सरकार प्रतिवद्द भएको बताउनुभएको छ । उहाँले सवै समिति खारेज भएपनि गुम्बा विकास समितिको अस्तित्व बाँकी राख्नुले पनि सरकार बौद्ध धर्म प्रति उत्तरदायी भएको बताउनुभएको हो ।
उहाँले हालका दिनमा विदा काटौंतिको विरोध गर्नु तुक पूर्ण नभएको बताउँदै आगामी बर्षमा यस सम्वन्धमा पुन विचार गर्ने समेत बताउनुभएको थियो ।
उहाँले अव गुम्वाहरुको पून निर्माणमा पून निर्माण प्राधिकरण सँग समन्वय गरि कार्य अगाडी बढाउने जानकारी दिनुभएको थियो । अव पून निर्माण प्राधिकरण मार्फत आधा आधा अर्थात सरकारको ५० प्रतिशत र गुम्वाको ५० प्रतिशत रकममा गुम्वा पून निर्माण कार्य थालनी गर्न सरकार लागि परेको अधिकारीले बताउनुभएको थियो ।

सम्मेलनमा नेपाली कांग्रेसका पूर्व सभासद इन्द्रवहादुर गुरूङ, पूर्व राज्यमन्त्रीद्धय आङटावा शेर्पा, यशोदाकुमारी लामाले सम्मेलको सफलताको शुभकामना दिदै बौद्ध धर्मालम्वी प्रति राज्यले नै उपेक्षा गरेको बताउनुभयो । उहाँहरुका अनुसार राज्यले नै बौद्धको नाम विकाउँदै आएको तर बौद्ध धर्मालम्वीहरुलाई भने उपेक्षा गर्दै आएको आरोप लगाउनुभएको थियो ।
उहाँहरुका अनुसार शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन नाराका साथ बौद्ध दर्शन र सम्पदाहरुको संरक्षणका समस्या र अवसरहरुलाई पहिचान गर्दै बौद्ध दर्शनमार्फत देशको धार्मिक पर्यटकको संख्या वृद्धि गराउने उद्धेश्यले काम गर्नुपर्ने जनाउनुभयो ।
कार्यक्रममा गुम्व ब्यवस्थापन समितिका अध्यक्ष खेम्पो कर्मा छिरिङ टासी लामाले हाल सम्म नेपालमा दर्तामा रहेका करिब २७०० गुम्बा (गोन्पा) विहार बहाः बहीःहरुको तथ्याङ्गक रहेको जानकारी दिनुभएको थियो । उहाँका अनुसार हामीहरु पनि सरकारी आँकडामा नआउँदा समस्या भएको बताउँदै अवका दिनमा सवै एकै भई काम गर्नु पर्ने जरुरत रहेको समेत बताउनुभयो ।
सम्मेलनको मुख्य आयोजक संस्कृति पर्यटन तथा उड्ययन मन्त्रालय रहेको थियो भने सह आयोजक अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र वज्रयान महासंघ रहेका थिए ।
एक दिन सम्मेलनमा विभिन्न भिक्षुहरुले ४ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा ‘२१ औं शताब्दीमा नेपालीमाझ बौद्धधर्म चुनौती र अवसर’, ‘वर्तमान नेपालमा थेरवाद बुद्धधर्मको अवस्था र चुनौति’, ‘गोन्पा तथा गोन्पा विद्यालयमा देखिएका समस्या समाधानको उपाय’ र ‘बज्रयान बौद्धधर्ममा बहाः बहीः महाविहार’ थिए ।

राष्ट्रिय बौद्ध सम्मेलन–२०७५” को सम्मेलनद्वारा पारित घोषणापत्र यस प्रकार रहेको छ
नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अगुवाईमा अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र वज्रयान महासंघ सह–आयोजक भै आज नेपाल प्रसाशनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको सभाहलमा सम्पन्न “राष्ट्रिय बौद्ध सम्मेलन–२०७५” ले १२ बुँदे घोषणापत्र मूलआयोजक नेपाल सरकार र बौद्ध धर्मका त्रियान (३ वटै यान) को तर्फबाट सम्मेलनको मूल नारा “शान्त, सम्वृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन” रहेकोमा सोही मूल नारा (Theme)को उद्देश्य पूर्तिका साथै सन् २०२० को पर्यटन वर्ष समेत सफल पार्ने हेतुलेः

१. बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विशेष ऐनद्धारा बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठानमा रुपान्तरण गरिनुपर्ने ।

२. राज्यमा रहेको बौद्ध गुम्बा÷विहार÷बहाः÷बहिः÷छ्र्योतेन÷गुफा तथा बौद्ध तिर्थस्थलहरु प्रशासनिक तथा कानुनी हैसियत कायम गर्न सोही विशेष ऐनद्धारा रुपान्तरित बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठान अन्तर्गत एकद्धार प्रणाली अनुरुप दर्ता, नविकरण, अनुगमन, नियमन, नियन्त्रण तथा संरक्षण हुनु पर्ने ।

३.मठ, मन्दिर, गुम्बा, विहार, बहाः, बहिः आदि विशुद्ध धार्मिक, सामाजिक अभिछिन्न उत्तराधिकारवाला, मुनाफा रहित परोपकारी संस्था भएको हुनाले बौद्ध दर्शन प्रवद्र्धन तथा सम्पदा संरक्षण प्रतिष्ठानको सिफारिशमा समाजकल्याण परिषद्मा आवद्ध हुन पाउनु पर्ने ।

४. गुम्बा, विहार, बहाः, बहिः मुनाफा रहित जनहितकारी संस्था भएकोले कुनै श्रद्धालु भक्तजन, समान उद्देश्य भएका वैदेशिक संघ संस्थाबाट प्राप्त दान जग्गा, भवन लगायतको रजिष्ट्रेशन दस्तुर, एकिकृत सम्पति कर लगायत सबै प्रकारका कर छुट हुनु पर्ने ।

५. गुम्बा, विहार, बहाः, बहिःहरु आध्यात्मिक शिक्षालय पनि भएको हुनाले प्रचलित ऐन, नियमले अन्य प्रकृतिको शैक्षिक संस्थालाई प्राप्त सेवा सुविधा, छुट, जग्गा हदवन्दीको सुविधा गुम्बा, विहार, बहाः, बहिःलाई पनि हुनु पर्ने ।

६. विद्यमान बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) आदेश २०६६, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास नियमावली÷निर्देशिका २०७१ अन्तर्गतका प्रावधानहरु प्रतिष्ठानमा परिणत नभएसम्म संगठन र समय सान्दर्भिक बनाइनु पर्ने ।

७. शाक्यमुनि बुद्ध र सो भन्दा अगाडी देखि संचालनमा रही आएको बौद्ध गुम्बा, विहार, बहाः, बहि, आदिको मौलिक मूर्त तथा अमूर्त सम्पदा मुल्य, मान्यता, संस्कृति संस्कारहरु संरक्षणको लागि विशेष नीति बनाउनु पर्ने र विकासको नाममा भइरहेका बौद्ध सम्पदा हटाउने काम तत्काल बन्द होस ।

८.बौद्ध शिक्षा, शील, समाधिको अध्ययन, अनुसन्धान र अभ्यासको लागि अन्तराष्ट्रिय स्तरको अभिलेखालय सहितको अनुसन्धान केन्द्रको स्थापना गर्नु पर्ने ।

९. पंचशिलमा आधारित बौद्ध शिक्षा र साहित्यलाई प्राथमिक विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नु पर्ने ।

१०.आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको संख्या र समय बृद्धि गर्नको लागि थेरवाद, महायान र वज्रयानको परम्परागत वास्तुकला, शिल्पकला, धातुकला, काष्ठकला, मुर्तिकला, ललितकला (कला कौशल्ता) को संरक्षण, सम्वद्र्धन तथा विकासमा गर्न पहल गर्ने ।

११. नेपालका बौद्ध तीर्थस्थलको पहिचान, उत्खनन् र प्रवद्र्धन गरी वृहत्तर बौद्ध सर्किटमा आवद्ध गरिनु पर्ने र उनीहरुको अभिलेख राखि आधिकारिक निकायबाट प्रकाशित गर्नु पर्ने ।

१२. बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजना तथा त्रि–यानको सह–आयोजनामा प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन वार्षिक रुपमा आयोजना गरिने छ ।