एजे कप भलिबल प्रतियोगिताको तयारी पूरा

346

भक्तपुर । भक्तपुरमा हुने जिल्लास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

भलिबल खेलको राष्ट्रिय खेलाडी उत्पादनमा अब्बल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलले गर्न लागेको विद्यालयस्तरीय पाँचौं एजे कपको सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

पुस ७ गतेबाट सुरु हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुको सहभागिता रहेको जानकारी दिए ।

उनले चार जिल्लाका २० विद्यालयका ३२ टीमका २ सय ८८ विद्यार्थीबीच स्पर्धा हुने बताउँदै भलिबल खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउन सहयोग पुग्ने बताए ।

‘गत वर्षसम्म थोरैमात्र विद्यालय र टीमको सहभागिता रहेकोे यो प्रतियोगितामा यो वर्ष उल्लेख्य टीमको सहभागिता भएको छ, यसले हामीलाई अझ उत्साहित बनाएको छ ।’ विद्यालयले विं.सं. २०७१ सालदेखि प्रतियोगिता गर्दै आइरहेको बताउँदै खेलकुद प्रतियोगिताले विद्यार्थीलाई स्वस्थ बनाउन, विभिन्न कुलतबाट टाढा राख्न र पढाइप्रति लगाव बढाउन खेलकुद सहायकसिद्ध भएको बताए ।

प्रतियोगितामा विजयी टीम र उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई दिइने शिल्ड, मेडलको प्रदर्शनी समेत गरिएको सो पत्रकार सम्मेलनमा प्रिन्सिपल दुवालले विद्यालयस्तरीय प्रतियोगितामा छात्र र छात्रा विद्यार्थीबीच छुट्टै स्पर्धा हुने बताए । उनका अनुसार प्रतियोगितामा काठमाडौंका ८, भक्तपुरका ८, ललितपुरका २ र काभ्रेका १ विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजकसहित सैनिक महाविद्यालय, भक्तपुर, दीव्यदीप इंग्लिस सेकेण्डरी स्कूल, भक्तपुर, आदर्श जनप्रेमी मावि, भक्तपुर, श्री पद्म मावि, भक्तपुर, थ्रीस्टार इंग्लिस सेकेण्डरी स्कुल, काठमाडौं, एडभान्स मावि, ललितपुर, पिनाकल मावि, ललितपुर, ग्लासियर मावि, काठमाडौं, गीताञ्जलि उमावि, काठमाडौं, लालीगुराँस राष्ट्रिय स्कुल, काठमाडौं, गान्धी उमावि, काठमाडौ, ज्ञानकुञ्ज प्रतिष्ठान, काभ्रे, सूर्यदिप इंग्लिस सेकेण्डरी स्कुल, भक्तपुर, न्यू डायमण्ड सेकेण्डरी स्कूल, काठमाडौं, पारामाउण्ट स्कुल, काठमाडौं, परोपकार स्कूल, काठमाडौं, विजेश्वरी ज्ञान मन्दिर, काठमाडौं र ख्वप मावि, भक्तपुर, ग्लिटर फ्यु्चर स्कुल, भक्तपुर सहभागी हुनेछन् ।

प्रतियोगिता संयोजक एवं भलिबल खेलका प्रशिक्षक तथा राष्ट्रिय रेफ्रि एवं राष्ट्रिय खेलाडी रुकेश शाहीले स्पर्धाका लागि एजे स्पोट्र्स क्लबको विशेष सहयोग रहेको बताउँदै प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था रहेको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाउनेछ ।

नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृतसमेत गरिने छ ।