हनुमन्ते फर्काउने नाममा भूमाफियाबाट स्थानीय त्रसित : काँग्रेस
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले भक्तपुरको हनुमन्ते खोला फर्काउने नाममा भूमाफियाले स्थानीय जग्गा धनीलाई त्रसित बनाउने काम गरेको भन्दै विरोध जनाएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै हनुमन्तेमा राजनीतिकरण भएको आरोप समेत लगाएको छ ।
पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख केदार खड्काले २०७२ सालमा नै तत्कालिन सरकारले हनुमन्ते खोला कोरिडोरको कल्पनागरि निर्माणका लागि टेण्डर समेत भै सकेको कुरालाई अतिरन्जित बनाउदै मेरो सक्रियतामा भएको,म नभए हुने थिएन भन्ने आशयका साथ केही मानिसहरु तथा तिनीहरु आवद्द राजनैतिक दल हिडेको भन्दै खोलामा नेकपाका नेताहरुले राजनीति गरेको आरोप लगाएका छन् ।

हनुमन्ते करिडोर निर्माणका नाममा कहिले खोला फर्काउने त कहिले खोलाको सिमांकन गर्ने भन्दै जग्गा धनीलाई त्रसित बनाउने तथा जग्गा एकिकरण आयोजना गरि कोरिडोर निर्माणका नाममा नेकपाका नेताहरुले खरिद गरेको खोलाको जमिन उकास्ने काममा दल नै लाग्नु लाजमर्दो भएको काँग्रेसले जनाएको छ ।
पार्टी सभापति दूर्लभ थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै हनुमन्ते करिडोर निर्माणका नाममा भूमाफियाहरुले पार्टी सभापतिको नाम समेत जोडेर प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
हनुमन्तेबाट जनप्रतिनिधिले करोडौ अपचलन गरेको आफूसँग प्रमाण भएको दावी गर्दै हनुमन्तेमा भूमाफियालाई प्रशासनको समेत साथ रहेको कांग्रेस सभापति थापाले आरोप लगाए ।
त्यस्तै हनुमन्ते नदी र अरनिको राजमार्ग सरसफाइमा राजनीतिक आवरण जोडेर प्रचार गरेको आरोप लगाउँदै विज्ञप्तिमार्फत सभापति थापाले आपत्ती जनाएका छन् । हनुमन्ते सफाई र अरनिको राजमार्ग सफाई कुनै राजनीतिक एजेण्डा बनाएर गलत प्रचार प्रसारमा केहि तत्व लागेको उनको आरोप रहेको थियो ।
प्रतिनिधि सभा,प्रदेश सभा तथा स्थानिय निकायको निर्वाचन पश्चात अन्य राजनैतिक दल तथा साथीहरुको उपस्थितिलाई इन्कार गर्दै केही राजनैतिक दल तथा कार्यकर्ताले आफूखुशी कार्य गर्दै र अतिरन्जित तवरबाट निर्णय भएको समाचार आए तर्फ नेपाली काँग्रेस गंभिर असहमती प्रकट गरेको छ । बिकास निर्माण,सामाजिक गतिबिधिका कार्यमा अन्य सवै राजनैतिक दलको भावना समेत समेटिने संसदीय अभ्यासका बिरुद्द हुदै आएका कार्यहरु तत्काल बन्द गर्न सम्बन्धित सवै पक्ष, राजनैतिक दल तथा निकायलाई काँग्रेसले आग्रह गरेको छ । विज्ञप्तीमा काँग्रेसले अन्यथा नेपाली काँग्रेस बाध्य भै जनताका माझमा जाने जनाएको छ ।
यस्तै विज्ञप्तीमा नेपाली कांग्रेसले जिल्लाका चारवटै नगरपालिकाले दलहरुसँग सुझाव नलिइ एकलौटी ढंगले विभिन्न सेवामा कर एवं राजस्वको दायरा वृद्धि गरेको भन्दै तत्काल घटाउन समेत माग गरेको छ ।
भक्तपुर चाँगुनारायण प्रदेशमा रित्त रहेको प्रदेश सभा सदस्यको निर्वाचन यथा सिग्र गराई जनतालाई जनप्रतिनिधि उपलब्ध गराउन समेत काँग्रेसले माग गरेको छ ।
ज्ञापन पत्र पढेर सुनाउँदै जिल्ला सदस्य गोकुल शर्माले बर्तमान सरकार गठन भएसगै मुलुकमा बढ्दै गएको हत्या,हिसाँ , सामाजिक असुरक्षा,महगी तथा स्थानिय सरकारका नाममा जनताको भावना बिपरित बर्ढाईएको कर तथा राजस्वको दायरबाट आम जनतामा पर्न गएका समस्या लगायतका बिषयमा निकट भविष्यमा नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा बिरोध सभा आयोजना गर्ने जानकारी दिएका थिए ।
विज्ञप्ती
नेपाली कांग्रेस
भक्तपुर जिल्ला कार्य समिति
प्रेस बिज्ञप्ती
नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरका आदरणीय पार्टी सभापति श्री दुर्लभ थापा ज्यूको अध्यक्षतामा मिति २०७५ साल माघ ३ देखि ६ गते सम्म बसेको बैठकले बिभिन्न निर्णयहरु गर्नुका साथै भक्तपुरका समसामयिक बिषयमा बिभिन्न धारणा जारी गरेको छ ।
समसामयिक बिषयहरुमा पार्टीको धारणा
१) हनुमन्ते कोरिडोरका सम्बन्धमा :
केही महिनादेखि भक्तपुरको हनुमन्तेखोलाको कोरिडोर निर्माणका नाममा अतिशयुक्ति क्रियकलाप भएको तर्फ पार्टीको ध्यानाकर्षण भएको छ । २०७२ सालमा नै तत्कालिन सरकारले हनुमन्ते खोला कोरिडोरको कल्पना गरि निर्माणका लागि टेण्डर समेत भै सकेको कुरालाई अतिरन्जित बनाउदै मेरो सक्रियतामा भएको,म नभए हुने थिएन भन्ने आशयका साथ केही मानिसहरु तथा तिनीहरु आवद्द राजनैतिक दल हिडेको आभाष भएको छ । कहिले खोला फर्काउने भन्ने नाममा,त कहिले खोलाको सिमांकन गर्ने भन्ने बिषय उठाई जनतालाई दिगभ्रमित बनाउने क्रियाकलापहरु भै रहेको छ । दिउस दिउस खोलाबाट पिडित नागरिकहरुलाई उठाई नारा जुलुस गर्ने तर रातिराति स्थानिय प्रशासनको समेत मिलेमतोमा डोजर लगायतका सामान प्रयोग गरि खोलाको बहाव परिवर्तन गराउने कार्य गरेको प्रति नेपाली काँग्रेस गंभिर असहमती राख्दछ । केही भूमाफिया,दलाल तथा राजनैतिक असहमती वातावरणको फाईदा उठाउन सिपालु केही मानिसहरुको मिलेमतोमा आफूलाई प्रतिनिधि सभा,प्रदेश सभाका सभाषद भन्ने तथा नगरपालिकाका जनप्रतिनिधि भन्नेहरु नै प्रतक्ष्य सहभागि भै भएका यस्ता कार्यप्रति नेपाली काँग्रेस असहमती जनाउदछ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भै निर्वाचित स्थानिय तहका साथीहरु तथा पार्टीका बिभिन्न तहमा रहेका साथीहरुलाई पार्टीको आधिकारीक स्वीकृति बिना हनुमन्तेखोला कारिेडोरका कुनै बैठक भेला तथा समिति उपसमितिमा राखिएको भनि भएको प्रचार प्रसार प्रति गंभिर आपत्ति रहेको जानकारी गराउदै त्यस्ता अतिरन्जित समाचार प्रति सचेत रहन सवैमा जानकारी गराउदछ ।स्थानिय प्रशासनका केही जिम्मेवार ब्यक्तिहरु समेतको सम्लग्नता भएको आभाष हुदै गएको तर्फ स्थानियक प्रशासनलाई बेलैमा त्यस्ता गैरकानूनी कार्यमा चुपचाप नरहन समेत आग्रह गर्दछौं । हनुमन्ते कोरिडोरका नाममा करौडौं रुपैया आफूलाई जनप्रतिनिधि भन्ने हरुले नै अपचलन गरेको यथेष्ट आधारहरु रहेको र आवस्यता अनुसार सार्वजनिक हुने नै हुदा कोरेडोरको निर्माण उपत्यका नगरबिकास प्राधिकरणले प्रचलित ऐन नियम तथा तय भएका मापदण्डका आधारमा गर्नु पर्ने र त्यस्ता बिकास निर्माण तथा कार्यमा नेपाली काँग्रेस सदैव सकारात्मक सोचका साथ समर्थन गर्ने कुरा जानकारी गराउदछौं ।
२) हनुमन्ते सरसफाई तथा राजमार्ग सफाई कार्यक्रम
उपत्यकाका नदिहरुमा भएको फोहोर नियन्त्रण गर्न नदीहरु सरसफाईका कार्यक्रमहरु सचालन भएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यमा सहभागि हुन नेपाली काँग्रेसका सवै तहका साथीहरुलाई आग्रह गर्दै सहभागि हुदै आएका छौ । तर उक्त कार्यक्रममा केही दल,बिशेष त आफूलाई दुई तिहाई को दम्भको आभाष दिने सत्तारुढ दल बिशेषका कार्यकर्ताले फलानो नेताको नेतृत्वमा भएको भनि प्रचार प्रसार गर्ने, सामाजिक संजालहरुमा आफूलाई ठुलो दल भनि घमण्ड गर्ने नेपाल कम्युनिष्ट पार्टीको नेताको नाम जोडि सामाजिक कार्यमा समेत राजनैतिक आवरण दिने प्रयत्न भएको प्रति नेपाली काँग्रेस भक्तपुर गंभिर आपत्ति प्रकट गर्दछ । सामाजिक कार्य सामाजिक मनोभावना र पबित्र उद्देश्यका साथ हुनु पर्ने र सो उद्देश्य परिपूर्तिका लागि नेपाली काँग्रेस सदैव अग्रभागमा रही सहयोग गर्दे आएको छ । अप्रासंगिक कार्यक्रममा सहभागि भै खिचिएका फोटाहरुलाई हनुमन्ते तथा राजमार्ग सफाई कार्यक्रमको नाम दिई सामाजिक संजालहरुमा प्रकाशन गरि आफूलाई महान मान्ने दल तथा कार्यकर्ताहरुको बदनियत तर्फ समयमै सचेत रहन आम भक्तपुर बासी दाजुभाई दिदीबहिनीहरु लाई आग्रह गर्दै नेपाली काँग्रेसका निर्वाचित सवैतहका साथीहरु तथा पार्टीका साथीहरुलाई समेत सामाजिक कार्यमा सामाजिक मनोभावावना सहित सहभागि हुन निर्देशन जारी गर्दछ ।
३) राजनैतिक सहमती बमोजिम प्रकृया अघाढि बढाउन
स्थानिय निकायका नाममा नगरपालिकाहरुले बिना कुनै सल्लाह एकलौटी रुपमा बढाएको कर, राजस्वको दायरा बृद्दि भएको तर्फ नेपाली काँग्रेस भक्तपुरका बिभिन्न नगरसमितिहरुले सम्बन्धित नगरपालिकाहरुमा ज्ञापन पत्र बुझाएको,ति ज्ञापन पत्र पश्चात नेपाली काँग्रेससग भएको सहमतीको पूर्ण कार्यान्वयन नभएको तर्फ ध्यानाकर्षण भएको छ । नेपाली काँग्रेसले बुझाएको ज्ञापन पत्रका बुदाहरु जनचाहना अनुरुप भएकोले सो बुदाहरुलाई यथाशिघ्र लागु गर्दै जनताको भावना बिपरित बढाईएको करको दायरा घटाउन तत्काल माग गर्दछौं ।
४) चागुनारायण प्रदेश(भक्तपुर क्षेत्र नं.१ ख ) को निर्वाचन का सम्बन्धमा ।
केही समय अगाडि भएको प्रदेश तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको असामयिक निधन भई खाली रहेको प्रदेश तहको निर्वाचन गर्ने तर्फ वर्तमान सरकारको कुनै चासो नभएको तर्फ ध्यानाकर्षण भएको छ । सदैव आवधिक निर्वाचन प्रति बिश्वास गर्ने नेपाली काँग्रेस तत्काल उक्त प्रदेशमा निर्वाचनको मिति तोक्न र स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरण तयार गर्न एवं आफना
जनप्रतिनिधि मार्फत आफ्ना भावना मुखरित गर्न पाउने सैवैधानिक हकको सुनिश्चितताको लागि बर्तमान सरकारको ध्यानाकर्षण गराउदछौं ।
५) राजनैतिक सहकार्य को ब्यस्वस्था गर्न
गत प्रतिनिधि सभा,प्रदेश सभा तथा स्थानिय निकायको निर्वाचन पश्चात अन्य राजनैतिक दल तथा साथीहरुको उपस्थितिलाई ईन्कार गर्दै केही राजनैतिक दल तथा कार्यकर्ताले आफूखुशी कार्य गर्दै र अतिरन्जित तवरबाट निर्णयहरु भएको समाचार आए तर्फ नेपाली काँग्रेस गंभिर असहमती प्रकट गर्दछ । बिकास निर्माण,सामाजिक गतिबिधिका कार्यमा अन्य सवै राजनैतिक दलको भावना समेत समेटिने संसदीय अभ्यासका बिरुद्द हुदै आएका कार्यहरु तत्काल बन्द गर्न सम्बन्धित सवै पक्ष, राजनैतिक दल तथा निकायलाई आग्रह गर्दछौं । अन्यथा नेपाली काँग्रेस बाध्य भै जनताका माझमा जाने जानकारी गराउदछौं ।
६) बिरोध सभा सम्बन्धमा
बर्तमान सरकार गठन सगै मुलुकमा बढ्दै गएको हत्या,हिसाँ ,सामाजिक असुरक्षा,महगी तथा स्थानिय सरकारका नाममा जनताको भावना बिपरित बढाईएको कर तथा राजस्वको दायरबाट आम जनतामा पर्न गएका समस्या लगायतका बिषयमा निकट भविष्यमा नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा बिरोध सभा आयोजना गर्ने निर्णय गरियो ।
दुर्लभ थापा
सभापति
नेपाली काँग्रेस
भक्तपुर जिल्ला कार्यसमिति
मितिः २०७-१०-०८










































