काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले समृद्ध मुलुक निर्माणका लागि पूजीको आवश्यक पर्ने भएकाले पूँजी निर्माणको लागि सरकारले “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” ल्याएको बताएका छन्।
प्रतिनिधिसभाको विहिबारको बैठकमा ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले पूँजीको आवश्यकता पूरा गर्नका लागि विधेयक प्रस्तुत भएको स्पष्ट पारे। संभावनालाई उपलब्धिमा रुपान्तरण गर्नका लागि आवश्यक पर्ने पूँजी, प्रविधि, ज्ञान र उद्यमशिलतामध्ये पूँजीको आवश्यकता पुरा गर्नका लागि विधेयक प्रस्तुत भएको उहाँले स्पष्ट पारे। पूँजी केन्द्रीकृत र एकाधिकारी प्रवृतिको नहोस् भन्नेमा सरकार सचेत रहेको उनले प्रस्ट्याए।
निजी क्षेत्रसंगको सहकार्य गरि राष्ट्रिय पूँजी निर्माण गरि त्यो राष्ट्रिय पूँजीमार्फत मुलुकले सम्मृद्धि हासिल गर्दै उन्नत समाजवाद तर्फ दिशामा सरकार अघि बढेको उनले बताए। संविधानले समाजवाद उन्मुख राज्य प्रणाली मात्रै नभनेकाले त्यो प्राप्त गर्नलाई सरकार, नीजी क्षेत्र र सहकारी क्षेत्रको संयुक्त प्रयासलाई आत्मसाथ गरेकाले त्यसलाई विर्सन नहुने बताए।
संविधानले सम्पूर्ण राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउन पर्छ नभनेको स्पष्ट पार्दै उनले संविधानले निजी सम्पत्तिलाई सुरक्षा र उपभोगको स्वतन्त्रता दिएको स्पष्ट पारे। उनले प्रस्तावित विधेयकमा रहेका केही प्राविधिक विषयलाई भने संसोधन गर्न सकिने बताए
विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकु माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो।