देशको गोप्यता चुहाउनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ : बिजुक्छे

278

ईश्वरकाजी खाइजू

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको गोप्यता विदेशी मुलुकसमक्ष चुहाउने प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरुलाई सीधै देशद्रोहको मुद्दा लगाउनुपर्नेमा जोड दिएका छन् ।
देशको सार्वभौमिकता, स्वतन्त्र, अखण्डता र अन्तर्राष्ट्रिय सम्बन्ध नै खतरामा पर्ने देशको गोप्यता अर्को देशलाई चुहाउँदै आएका पनि हामीकहाँ प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीहरुले छुट पाउँदै आएको उनले स्पष्ट पारे ।
भक्तपुर नगरपालिका ९ च्याम्हासिंहस्थित वागीश्वरी माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले नेपालमा प्रधानमन्त्रीले नै देशको गोप्यता चुहाउने गरेको दावी गरेका हुन् ।
‘अन्य देशमा देशको गोप्यता अरु देशलाई चुहाउनेमाथि सीधै देशद्रोहको मुद्दा लाग्छ’, उनले भने, ‘तर हामीकहाँ प्रधानमन्त्रीले नै गोप्यता चुहाउँछन् । जसले गर्दा मन्त्री र उच्चपदस्थ कर्मचारीहरुले समेत यसमा छुट पाउँदै आएका छन् ।’
उनले उच्च पदस्थ कर्मचारीहरुमा भूगोल, इतिहास र राजनीतिबारे राम्रो ज्ञान नहुँदा भारतसँगको हरेक सन्धि सम्झौतामा नेपाल ठगिँदै आएको चर्चा गरे ।
‘अन्तर्राष्ट्रिय कानुनले दुई देशको सीमा क्षेत्रमा कुनै भौतिक निर्माण गर्न पाइँदैन’, अध्यक्ष बिजुक्छेले थपे, ‘तर हाम्रो देशको प्रतिनिधित्व गर्नेहरुले सीमामै बाँध बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।’
भारतले नेपाली भूभागमा कब्जा गर्ने नियतले बनाएका व्यवस्थालाई नै सरकारमा जाने दलका नेता तथा संसादहरुले संसदमा ऐन–कानुनको रुपमा प्रस्तुत गर्ने भन्दै उनले आक्रोश पोखे ।
असीमित नेपाली भूभाग विदेशीहरुलाई भाडामा दिने जस्तो राष्ट्रघाती ऐन–कानुन ल्याउनसमेत सरकारमा जाने दलका नेता तथा सांसदहरु पछि नहटेको उनको भनाइ थियो ।
उनले विदेशीलाई नेपाली भूमि भाडामा दिने, नदीनाला तथा प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने अधिकार केही व्यक्ति हुने लगानी बोर्डलाई दिनु आपत्तिजनक भएको बताए ।
‘देशको नदीनाला तथा प्राकृतिक स्रोतसाधनको उपयोग तथा नेपाली भूमि विदेशीलाई भाडामा दिन नदिने निर्णय गर्ने अधिकार संसदको दुईतिहाइ बहुमतलाई मात्रै अधिकार दिनुपर्छ’, उनले भने ।

निवन्ध लेखनको ट्रेण्ड फेरौं

अध्यक्ष बिजुक्छले नेपाली तथा अंग्रेजी साहित्यमा निबन्ध लेख्ने ट्रेण्डमै परिवर्तन ल्याउन शिक्षकहरुसमक्ष आग्रह गरे ।
‘म अहिलेको निवन्ध लेख्ने ट्रेण्ड नै फेर्नुपर्ने देख्छ’, उनले भने, ‘अब गाईको निवन्ध लेख्ने होइन, भ्रष्टाचार, कमिसनतन्त्रबारे विद्यार्थीहरुलाई निवन्ध लेख्न लगाउनुपर्छ ।’
विद्यार्थीहरुलाई किताबी ज्ञानमा दिइँदा विदेशीहरुको लागि सस्तो कामदार तयार गरेजस्तो मात्रै भएको उनको टिप्पणी थियो ।
‘त्यसैले विद्यार्थीहरुलाई सानैदेखि आलोचनात्मक दृष्टिकोणयुक्त बनाउनुपर्छ’, नेता बिजुक्छेले भने, ‘देशको भूगोल र इतिहासबारे पनि पढाउन थालौं । यस्ता कुरा किताबमा हुँदैन तर शिक्षकले खोजेर भए पनि पढाउनुपर्छ ।’
उनले नेपाली विद्यार्थीहरुलाई विदेशी राष्ट्रहरुले दिएको छात्रवृत्ति तिनीहरुकै हितको लागि भएको भन्दै उच्च शिक्षाको लागि विदेसिएका नेपाली विद्यार्थीहरुलाई शिक्षा, ज्ञान र सीप लिएर स्वदेशमै फर्की देश र जनताको हितमा काम गर्न आह्वान गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला शिक्षा कार्यालयलाई अर्कै नाम दिई यथावत राखेर स्थानीय सरकारलाई दिएको शैक्षिक अधिकार खोस्न सरकार उद्यत रहेको गुनासो गरे ।
कार्यक्रममा शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घसेवा पदकले सम्मान गरिएको थियो । साहित्यकारहरु चन्द्रबहादुर उलक, हरिहर तिमिल्सेना र चन्द्रप्रसाद ढकाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत र विभिन्न छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।