महिला दिवसमा भक्तपुरका दुई चेली सम्मानित

593

भक्तपुर । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मङ्गलबार काठमाडौँस्थित हायात होटलमा मिडिया ९ प्राइभेट लिमिटेडको आयोजनामा विभिन्न विधाका भक्तपुरका दुई उत्कृष्ट चेलीहरू हायात वाउ उमेन एचिभर एवार्ड २०१९ (Hayatt Wow Woman Achievers Award 2019) बाट सम्मानित भएका छन् ।

हायात होटल र मिडिया ९ प्राइभेट लिमिटेडको संयुक्त साझेदारीमा यस वर्षको १५ जना उत्कृष्ट महिलाहरूमध्येबाट ५ विधाअन्तर्गत सामाजिक सेवा तथा उत्थानमा सहयोग गर्न सफल भक्तपुरकी चेली पद्मा खयरगोली माइती नेपालका संस्थापक तथा CNN World Hero अनुराधा कोइरालाबाट सामाजिक कार्य तथा सक्रियता विधामा हायात वाउ वमेन एचिभर एवार्ड २०१९ (Hayatt Wow Woman Achievers Award 2019) बाट सम्मानित भएकी छिन् ।
महिला हिंसा, बलात्कार, अपहरण, हत्या बढ्दै गएको सन्दर्भमा छात्राहरूबीच आत्मरक्षाको तालिममा क्रियाशील पद्माले नेपाल सेल्फ डिफेन्स एसोसियसनमार्फत आत्मरक्षा तालिम सञ्चालन गर्दै आएकी छिन् । २०५१ सालदेखि सितेरियो कराँते खेलमा आबद्ध उनी कराँते तथा किक बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।
कार्यक्रममा नेवार समुदायमा धिमेलगायत परम्परागत नौ बाजाकी सफल वाद्यवादक कलाकार भक्तपुरकी अर्की चेली इन्दिरा लाछिमस्युलाई कलाकारिता विधाका लागि सम्मानित भएकी छिन् । छोरी चेलीले बाजा सिक्नुहुन्न भन्ने मान्यता तोड्दै प्रतिकूल समयमा परम्परागत बाजा सिकेकी इन्दिरा हाल नयाँ पुस्तालाई आफूले जानेको कला सिकाउँछिन् ।
विगत ३ वर्षदेखि छुट्टै पहिचान बोकी समाजमा आफ्नो स्थान बोक्न सफल विभिन्न विधाका महिलालाई मिडिया ९ प्राइभेट लिमिटेडले सम्मान तथा अवार्ड वितरण गर्दैै आएको थियो ।