राजर्षि गुरुकुललाई फुटबल लिगको उपाधि

300

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले फुटबल लिगको उपाधि जितेको छ ।
भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ एशोसिएसनले आयोजना गरेको ग्रासरुट होम एण्ड अवे फुटबल लिगको उपाधि भक्तपुर नगरपालिका वडा नं. १ स्थित राजर्षि गुरुकूलले जितेको हो ।

सानो उमेरदेखि नै फुटबल खेलप्रति आर्कषण बढाउनका लागि ६ वर्षदेखि १३ वर्षसम्मका विद्यार्थीहरुका लागि आयोजित सो स्पर्धामा १६ टीमको सहभागिता रहेको थियो । आयोजक एशोसिएसनका मनोज रञ्जितले जुनियर र सिनियर गरी दुई विधामा गरिएको स्पर्धामा जुनियरतर्फ राजर्षि गुरुकुल र सिनियरतर्फ नेपाल युथ प्रोगामले पहिलो स्थान हासिल गरेको जानकारी दिए ।
जुनियरतर्फ ८ वर्षदेखि १० वर्षसम्मका विद्यार्थीबीच भएको खेलमा नेपाल युथ प्रोगाम द्धितीय, मध्यपुर युथ एशोसिएसन तेस्रो र ग्ल्याडस्टोन एकेडेमी चौथो भएको थियो भने सिनियरतर्फ भने ग्ल्याडस्टोन एकेडेमी, नेक्सस एकेडेमी र एपिएस स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेको थियो ।
स्पर्धामा विजयी टीम तथा स्कुललाई मध्यपुरथिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जना मधिकर्मीलगायतले मेडल, शिल्ड र ट्रफी प्रदान गरेका थिए ।
एशोसिएसनले सो स्पर्धामा विभिन्न विद्यालय र टीमा ससाना बालबालिका गरी ४ सय ८० जनाको सहभागिता रहेको जनाउँदै स्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरेकालाई समेत पुरस्कृत गरिएको जनाएको छ ।
फुटबलको बलियो र पहिलो जगको रुपमा स्वीकारिएको ग्रासरुट फुटबल खेलले बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै स्वस्थ, निरोगी र अनुशासित बनाउन पनि सहयोग मिल्ने आयोजक एशोसिएसनका अध्यक्ष एवं राष्ट्रिय खेलाडी उपेन्द्रमान सिं प्रधानले बताए ।