काठमान्डाैं / राउतसँग सरकारले गरेको सहमतिको ६ नम्बर बुँदामा सहमति र संविधान प्रतिकूल हुने गरी राउत समूहले प्रचार सामग्रीहरू उत्पादन तथा वितरण गर्न नपाइने प्रावधान छ तर सो प्रावधानविपरीत राउतका कार्यकर्ताले बुलेट पु्रफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झन्डा बाँधेर सहमतिको ठाडो उल्लंघन गरेका छन् । राउतका कार्यकर्ता सहमतिविपरीतका प्रचार सामग्रीसहित मास्कले मुख छोपेको र आँखामा चस्मा लगाएर बिहानैदेखि जनकपुर विमानस्थल वरिपरि देखिएका थिए ।
आधा दर्जनको संख्यामा रहेका ती व्यक्ति विमानस्थलमा आउँदा पनि सुरक्षाकर्मीले केही गरेका थिएनन् । जब सीके राउत विमानस्थलमा अवतरण गरे अनि मात्र सबैले थाहा पाए, यस प्रकारको सुरक्षा गार्ड ‘स्वतन्त्र मधेस’ गठबन्धनका संयोजक सीके राउतका रहेछन् ।

सरकारसँग ११ बुँदे सहमति भएपछि जनकपुर जाने क्रममा राउतलाई स्वागत गर्न कार्यकर्ता र सुरक्षा गार्ड विमानस्थल पुगेका थिए । यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका आठ जना सुरक्षा गार्ड पहिलोपटक विमानस्थलमा देखिएका थिए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।








































