पत्नी सीताको उपचार गराउन प्रचण्ड अमेरिका प्रस्थान

248

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

केही वर्षदेखि नै विरामी रहेकी उनको यसअघि दिल्ली, सिंगापुरमा समेत लगेर उपचार गराइएको थियो । तर निको नभएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको हो ।

प्रचण्डलाई बिदाई गर्नका लागि नेकपाका नेता सुवास नेम्वाङ, देवेन्द्र पौडेल, विष्णु रिमाल लगायतका नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

सीता दाहालको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डले जानकारी दिए । त्यहाँ उनको प्रोग्रेसिभ सुपरन्यूक्लियर प्लासीको उपचार हुने छ ।

वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताए ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि अमेरिका गएका छन् ।

अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘म जानुको मुख्य उद्देश्य भनेको उपचार नै हो । पार्किसन्सको जटिल अवस्था भएकोले त्यहाँ एक यसको उपचार हुने थाहा भइसकेपछि उपचारका लागि जान लागिएको हो ।’