मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

251

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ। शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन्। 

यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ। यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ। 

शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन्। 

यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ। 

सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन्। 

पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन्। उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ। 

मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुँदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो बताए। पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे। 

पत्रकार स्यान्टियागोलाई गत शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो। सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पुर्‍याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए। 

ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए। ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो। 

पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । 

उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन। प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ। 

यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो। 

ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन। -एजेन्सी

 

Source link