प्रशिक्षकहरुको तालिमसम्बन्धी भेला

238

भक्तपुर ।
भक्तपुर नगरपालिकाकोे आयोजनामा आइतबार प्रशिक्षकहरुको तालिमसम्बन्धी एक भेला कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालय विद्यार्थीहरुको पहिलो रोजाई बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयका शिक्षकशिक्षिकाहरुको लागि विभिन्न विषयमा तालिमको आयोजना गर्न लागेको जानकारी गराउनुभयो।
संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन विभिन्न विषयको तालिमको आवश्यकता औंल्याउनुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न नगरपालिकाले विषयगत तालिमको कार्यक्रमलाई अगाडि सारेको बताउनुभयो।
भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकशिक्षिकाहरुलाई तालिम दिनुका साथै मन्टेश्वरी सिकाइ प्रविधिको पनि तालिम सञ्चालन गर्ने बताउनुभयो।
शिक्षकहरुले कमजोर विद्यार्थीको शैक्षिक स्तर उकास्न विशेष ध्यान दिन आग्रह गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर इञ्जिनियरि शिक्षामा उत्कृष्ट गन्तव्यको रुपमा स्थापित भइरहेको बताउनुभयो।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिक्षकशिक्षिकाहरुको तालिम सञ्चालनको उद्देश्य र आवश्यकताबारे प्रस्ट पार्नुहुँदै भक्तपुरको शैक्षिक स्थिति राम्रो बनाउन शिक्षकहरुको मेहेनत र योगदानले ठूलो भूमिका खेल्ने बताउनुभयो।
अ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा शिक्षकशिक्षिकाहरुलाई तालिम दिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा भक्तपुरका विभिन्न विद्यालयका प्रशिक्षकहरुको उपस्थिति थियो। तालिम यही चैत १३ गतेबाट सञ्चालन हुने जानकारी दिइएको छ ।