ट्रायल फेल भएर हैरान हुनभएको छ ? यी कुरामा ध्यान दिनुहोस्

529

काठमाडौं – उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् ।

स–साना कमजोरीलाई ध्यान दिने हो भने ट्रायल सजिलैसँग पास गर्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

१. आत्मबल

ट्रायल परीक्षा दिन लागेका परीक्षार्थी डराउनु हुँदैन, आत्तिनु हुँदैन । आत्मबल उच्च बनाउनु पर्छ । ट्रायल परीक्षा दिनुभन्दा पहिला सिक्ने क्रममा सजिलै पास गर्नेहरु ट्रायलमा फेल हुने गरेका छन् । यसको मुख्य कारण कमजोर आत्मबल हो । त्यसकारण आत्मबल उच्च राख्नुहोस् । ढुक्कसँग ट्रायल दिनुहोस् ।

२. हेल्मेट तथा स्ट्याण्ड

ट्रायलमा फेल हुनुको अर्को सामान्य तर धेरैले ध्यान नदिएको कुरा हेल्मेट हो । तपाई हेल्मेट लगाउनुहुन्छ तर हेल्मेटको फित्ता लगाउन बिर्सनुभयो सबै कुरा पास गरे पनि तपाई फेल हुनुहुन्छ । त्यसैले हेल्मेट लगाउने बित्तिकै फित्ता पनि लगाउनुहोस् ।

त्यस्तै अर्को ध्यान दिनुपर्ने कुरा स्ट्याण्ड हो । मोटरसाइकल तथा स्कुटरको स्ट्याण्ड लगाउन विर्र्सनु भयो भने पनि तपाई ट्रायल परीक्षामा फेल हुनुहुन्छ । त्यसकारण ट्रायलको ‘एट’ (8) फिगरमा प्रवेश गर्नुभन्दा पहिला यी दुबै कुरामा ध्यान दिनुहोस् ।

३. एट (8) फिगर सम्बन्धी ध्यान दिनुपर्ने कुराहरु

– ट्रायलको पहिलो सुरुवात नै एट (8) फिगरबाट हुन्छ । एट (8) फिगरमा छिर्दा तपाईलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नुहोस् ।

– मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट (8) फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन ।

– एकपटक एट (8) फिगर पूरा गरिसकेपछि पुनः आधा एट (8) गर्नुपर्छ ।

४. ट्राफिक बत्तीसम्बन्धी नियमहरु

– एट (8) फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ । जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ । रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ ।

– हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।

– जेब्राक्रसमा गइसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

५. साइड लाइटसम्बन्धी नियमहरु

– एबिलप (फलेक आकार जस्तो डाँडी) को अन्तिममा पुगेर तथा यु टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीतर्फको साइड लाइट बाल्नुपर्छ ।

– यु टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ ।

– साइड लाइट बाल्न वा बन्द गर्न बिर्सिएमा, ढिलो बन्द गरेमा, विपरित दिशाको साइड लाइट बलेमा, झुक्किएर हर्न बजेमा ट्रायल फेल हुन्छ ।

६.  यु टर्न सम्बन्धी नियमहरु

– यु टर्नको पँहेलो धर्का छुन, खुट्टा टेक्न हुँदैन ।

७. उकालो सम्बन्धी नियमहरु

– उकालोमा दुबै धर्काहरु नछोई स्टप stop लेखेको ठाउँमा रोक्नुपर्छ ।

– ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्ने ।

– अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु नुहने ।

– उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।

– क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द नगर्ने ।

– अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउने ।

८. ओरालो सम्बन्धी नियमहरु

– ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर stop लेखिएको भागलाई भने छुवाउनु पर्छ ।

– ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्ने ।

– ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने ।

– रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ ।

यी सबै कुरा पास गरेपछि तपाई लाइसेन्स लिन योग्य हुनुहुन्छ ।