अभ्यास खेलमा नेपाली युवा टिमको लगातार जित

311

काठमाडौं– आइसिसी यु–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा रहेको नेपाली यु–१९ टिमले अभ्यास खेलमा जित तेस्रो हात पारेको छ। पहिलो अभ्यास खेलमा पराजित नेपाली युवा टिमले मंगलबार भएको चौथो अभ्यास खेलमा आन्द्रा यु–१९ टिमलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो।

मंगलबार पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २१ रन जोड्यो। जवाफि ब्याटिङ गरेको आन्द्रा २ बल खेल्न बाँकी छदा २ सय १२ रनमा अलआउट भयो।

नेपालका लागि कुशल मल्लले नटआउट ४८ रन जोडे। उनले ५७ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै रासिद खानले रनआउट हुनुअघि ४० बलमा ४ चौका र १ छक्का हिर्काउँदै ४१ रन जोडे। रित गौतमले १५ रन जोडे भने पवन सर्फाले ३२ रनको योगदान दिए। कप्तान रोहित कुमार पौडेलले २२, भीम सार्कीले १७ र लोकेश बमले १२ रन बटुले। बलिङमा कार्तिक रेड्डी, माधव र दुर्गा कुमारले २–२ विकेट लिए।

आन्द्राका लागि ओपनिङ जोडीले ९२ रनको साझेदारी गरे। ओपनर हर्षवर्दनले ३६ र नितिश कुमारले ७४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। बलिङमा नेपालका पवन सर्राफ, कुशल मल्ल र भीम सार्कीले २–२ विकेट लिए।

नेपालले यहि महिना मलेसियामा हुने छनोटमा भाग लिँदैछ। विश्वकप छनोटको तयारी गर्न नेपाली टिम अहिले भारतको आन्द्रा प्रदेशमा छ। आन्द्रामा तयारीपछि नेपाल मलेसिया प्रस्थान गर्नेछ। जहाँ नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले भाग लिँदैछन्। शीर्ष एक टिम युवा विश्वकपमा छनोट हुनेछ।