जनकपुरधाम । जनकपुर बम विस्फोटको घटनामा पूर्वमन्त्री सञ्जय साह टकलासहित ७ जनालाई जन्मकैदको सजाय भएको छ ।
२०६९ साल बैसाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चौकमा दिएको धर्नाका क्रममा बम विस्फोट भएको थियो ।
सो विस्फोटमा परी सात जनाको मृत्यु भएको थियो । विस्फोटमा रंङ्गकर्मी रञ्जु झा, मैथिलीकर्मी झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।
यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय सुनाइएको छ । सो घटनामा संलग्न भएको आरोपमा ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ भने सुनिलकुमार पाण्डेले सफाइ पाएका छन् ।
प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव फरार छन् ।