जुम्ला। जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा सुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा सुरु भएको हो । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने पातारासी गाउँपालिकामा बैंक अफ काठमाडौंको शाखा विस्तार गरेसँगै सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँजमा पुगेका हुन् । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु¥याउने सरकारको योजनाअनुसार स्थानीय तहका केन्द्रमा बैंकिङ सेवा पुगेको हो । यो सेवासँगै यहाँका ग्रामीण क्षेत्रका नागरिकलाई वर्षाेंदेखि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले सबै स्थानीय तहका योजनादेखि सामाजिक सुरक्षाभत्ताका सबै कामकाज गाउँमै हुन थालेको छ ।
बैंकको सेवा विस्तारसँगै पैदल हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेपछि संघीयताको महसुस बैंकिङ सेवाले पनि गराएको पातारासी गाउँपालिका राम थापाले बताए । उनले भने, ‘डिल्लीचौरबाट सदरमुकाम पुग्न बास बस्नुपथ्र्यो तर अहिले गाउँमै बैंक आएपछि निकै सहज भएको छ ।’ उनका अनुसार बैंकिङ सेवाको पहुँचले सिंहदरबार गाउँगाउँमा आएको अनुभूति भएको छ । अहिले बैंकिङ सेवाकै लागि सदरमुकाम धाउनेको संख्या घटेसँगै स्थानीय तहका केन्द्रमा चहलपहल बढ्न
थालेको छ । पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले लामो समयको प्रयासपछि बैंकको विस्तार गर्न सफल भएको बताए । अब गाउँमै सेवा प्रवाह गरिने उनको भनाइ छ ।
सदरमुकामबाट सबैभन्दा टाढा रहेको कनका सुन्दरी गाउँपालिकामा कुमारी बैंकको शाखा सञ्चालनमा रहेको छ । जसले गर्दा पहिलेको योजनादेखि आर्थिक कारोबारका लागि बास बस्नुपर्ने स्थिति अहिले टरेको सचिव अम्मरराज गिरीले बताए । यस्तै, सिंजा गाउँपालिकामा नेपाल बंगलादेश बैंक, हिमागाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंकका शाखा सञ्चालनमा छन् । तिला गाउँपालिकमा नबिल बैंक, तातोपानी गाउँपालिकामा जनता बैंक, गोठीचौर गाउँपालिकामा सनराइज बैंक र पातारासी गाउँपालिकामा बैंक अफ काठमाडौंको शाखा सञ्चालन भएको छ ।