भक्तपुरमा आजबाट आँखाको मोतिबिन्दुको शल्यक्रिया शुरु

323

भक्तपुर ।
भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रमा शुक्रबारदेखि ‘मोतिविन्दु शल्यक्रियाको शुभारम्भ’ भएको छ ।

मोतिविन्दु शल्यक्रिया शुभारम्भ कार्यक्रमको उद्रुघाटन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले भक्तपुरमै सबै किसिमको आँखा सेवाको शुभारम्भ हुनुमा खुसी व्यक्त गर्नुहुँदै गरिबले पनि सस्तो र गुणस्तरीय सेवा प्राप्त गर्ने कुरा बताउनु भयो ।

मानिसको आयु र बढ्दो प्रदुषणले आँखामा असर पुग्ने बताउनुहुँदै अध्यक्ष विजुक्छेंले विदेश लगायत देशको ठाउँ ठाउँमा तिलगंगाको सेवा प्रशंसनीय रहेको र अब सोही स्तरको सेवा सस्तोमा भक्तपुरमा उपलब्ध हुनु गौरवको कुरा भएको बताउनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानको सेवाले यहाँको आँखाका विरामीहरु लाभान्वित हुने विश्वास प्रकट गर्नुहुँदै अध्यक्ष रोहितले रोग लाग्न नदिन प्रदुषण घटाउने र धुँवा धुलोबाट आँखालाई बचाउनु पर्ने बताउनुभयो ।

नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले शिक्षा र स्वास्थ्यमा सरकारको पहुँच घट्दै गएको र गरिबहरु स्वास्थ्य सेवाबाट बञ्चित भइरहेको बताउनुभयो । भक्तपुरमा उपलब्ध स्वास्थ्य सेवाले देशभरीका विरामी लाभान्वित हुने बताउनुहुँदै सांसद सुवालले भक्तपुरमा शुरु भएको मोतिबिन्दु शल्यक्रिया कार्यक्रमले धेरै आँखा रोगीहरुको सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आँखा रोगीहरु बढ्नुमा प्रदुषण मुख्य कारण भएको बताउनुहुँदै सामुदायिक स्वास्थ्य सेवालाई प्रभावकारी ढंगबाट लागू गर्न सके बहुसंख्यक जनता लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा आँखा उपचारको सेवा २०६३ सालदेखि अगाडि बढेको र अब तिलगंगा आँखा अस्पतालमा भन्दा सस्तो र गुणस्तरीय शल्यक्रिया सहितको सेवा दिने बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले नगरबासीहरुको रोगको तथ्यांक संकलन गर्न पाठेघर, मधुमेह, उच्च रक्तचाप, मृगौला परिक्षण, खकार, दमखोकी लगायतको स्वास्थ्य शिविर शुरु गरिसेकेको जानकारी गराउनुभयो ।

भक्तपुर नगरपालिकाले ३ वटा जनस्वास्थ्य केन्द्रमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले ख्वप अस्पताल मार्फत देशकै सेवा गर्ने बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र बनाई सरसफाई र सम्पदा क्षेत्रमा पनि भक्तपुरलाई नमूना नगरको रुपमा स्थापित गर्ने नपाको उद्देश्य रहेको बताउनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतले स्वास्थ्य क्षेत्रमा थपिएको चुनौतीलाई ख्वप अस्पतालले निजी स्वास्थ्य क्षेत्रसँग प्रतिस्पर्धा गरी जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आँखाका बिरामीको सेवाको निम्ति सधैँ तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख दिवाकर पौडेल, जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख धिरज अधिकारीले पनि बोल्नुभएको थियो ।

लेन्सको पावर जाँच, आँखाको एक्स–रे, आँखाभित्र मासु पलाएको, शल्यक्रिया, परेला च्यातिने, मोतिविन्दु, टेढो आँखा जाँच, जलबिन्दु, मेसिनबाट चस्मा जाँच लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

आज र भोलि गरी १३० जना भन्दा बढिको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया अनुभवी विशेषज्ञ डाक्टरहरुबाट हुने जानकारी दिइएको छ ।