पाँच बुँदे घोषणापत्रका साथ तेस्रो तामाङ चलचित्र महोत्सव सम्पन्न

370

भकुण्डे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि आयोजित भएको तामाङ चलचित्र महोत्सब सम्पन्न भएको छ ।
सात बर्ष पछि काभ्रेको नमोबुद्द नगरपालिकामा आयोजना भएको तीन दिने तामाङ चलचित्र महोत्सव पाँच बुँदे घोषणापत्र जारी गर्दै धुमधामका साथ सम्पन्न भएको छ ।
पहिलो र दोस्रो चलचित्र महोत्सव मकवानपुरको हेटौंडामा सम्पन्न गरेको संघले तामाङहरुको बाहुल्य रहेको स्थान काभ्रेमा तेस्रो चलचित्र महोत्सव धुमधामका साथ सम्पन्न गरेको छ ।


महोत्सवको पहिलो दिन २ चलचित्र प्रर्दशनीका साथै कलाकर्मीहरु विच आगामी दिनमा के गर्ने भन्ने विषयमा अन्तरक्रिया भएको थियो भने दोस्रो दिन पनि दुई चलचित्र प्रर्दशनीका साथै सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आथिथ्यतामा विभिन्न लामा बुम्बो तम्बा सहित नमोबुद्द नगर परिक्रमा गरिएको थियो भने महोत्सवको तेस्रो दिन भने एक चलचित्र प्रर्दशनीका साथै विभिन्न कलाकारहरुद्दारा आफ्नो प्रस्तुती राखिएको थियो ।
तामाङ चलचित्र संघका अध्यक्ष एवं कलाकार विकु थोकरको नेतृत्वमा सुरु भएको महोत्सव तीन दिन सम्म चलेको थियो ।


तामाङ चलचित्रहरुको विकास एवं प्रर्वधनका लागि आयोजना भएको महोत्सवमा देश भरका तामाङ चलचित्रकर्मीको भेला भएका थिए ।
तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकतामा लैजाने र धेरै भन्दा धेरै दर्शकहरुमाझ लैजान सक्ने बनाउने भन्ने विषयमा वृहत छलफलका साथ आगामी दिनमा यसको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि महोत्सवमा छलफल भएको थियो ।
हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान भन्ने नाराका साथ भएको महोत्सवमा आप्लेङगा नाम्सा , रुङसी टिला , सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरिएको थियो । जसमा आप्लेङला नाम्सा उत्कृष्ठ चलचित्र घोषणा भएको थियो । उर्तकृष्ठ भएको उक्त चलचित्रलाई प्रोत्साहन स्वरुप ५१ हजार नगद पुरस्कार सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त माल लगाएत तामाङ खानाहरुको पनि प्रर्दशनी गरिएको थियो ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको नेतृत्वमा सम्पन्न भएको तेस्रो तामाङ चलचित्र महोत्सवबाट निम्न पाँच बुँदे घोषणापत्र जारी गरिएको छ ।
१) प्रत्येक दुई वर्षमा तामाङ चलचित्र महोत्सव आयोजना गरी उत्कृष्ठ चलचित्र र कलाकारलाई पुरस्कृत गर्ने
२) चलचित्र निर्माण सम्बन्धी तथा क्षमता अभिबृद्दिका लागि हरेक बर्ष आयोजना गर्दै आएको चलचित्र कार्यशाला गोष्ठीलाई निरन्तरता दिने ।
३) सरकारी निकायसँग समन्वय गरी चलचित्रको बजार विस्तार गर्न पहल गर्ने ।
४) मौलिक तामाङ संस्कृतिको जगेर्ना गर्न संघको तर्फबाट पनि चलचित्र निर्माण गर्ने ।
५) तामाङ चलचित्रकर्मीहरुलाई राष्ट्रिय परिचय पत्र दिलाउन चलचत्रि विकास बोर्डसँग समन्वय गर्ने ।