सिन्दुपाल्चाकमा ४ जनाको ज्यान लिने विष्फोटलाई ग्याँस पड्केको भन्दै गुपचुप पारियो

531

सिन्धुपाल्चोक । चार जनाको ज्यानै जानेगरी भएको विष्फोटको घटनालाई अन्यत्र मोडेर गुपचुप पारिएको रहस्य खुलेको छ । गत चैत्र ११ गते निर्माणाधिन अपर चाकु जलविद्युत आयोजनामा भएको विष्फोटको घटना लुकाएको भन्दै स्थानियले विरोध गरेपछि यो रहस्य बाहिर आएको हो । स्थानियले विरोध गर्दै छानविन गर्न विभिन्न निकायमा उजुरी हालेपछि उक्त विष्फोट काण्ड पुरै शंकास्पद देखिएको हो ।

यअसघि खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर उक्त विष्फोट भएको र चार जनाको ज्यान गएको खबर सार्वजनिक भएको थियो । स्थानीयबासीले भने आयोजना निर्माण गर्दा प्रयोग हुने विष्फोटक पदार्थ जिलेटिनको विष्फोटन हुँदा उक्त घटना भएको बताएका छन् । उक्त विष्फोट ग्याँस पड्केर भएको बताइएता पनि ग्याँस पड्केको पुष्टि हुने कुनै प्रमाण र आधार नभेटिएपछि स्थानियले त्यसको विरोध गर्दै जिलेटिन विष्फोट भएको र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका हुन् ।

‘हामीले पहिलादेखि नै भनिरहेका छौं कि यो घटनालाई नलुकाइयोस्, छानविन गरेर सत्यतथ्य बाहिर ल्याइयोस्,’ स्थानिय फुर्पा शेर्पाले भने, ‘विष्फोटको घटनालाई गलत प्रचार गरियो । जिलेटिन पड्किएको हो, चार जनाको ज्यान गएको छ, त्यसको निष्पक्ष छानविन हुनुपर्छ ।’ उनले छानविनको माग गर्दै विभिन्न निकायमा निवेदन दिएको समेत बताए । ग्याँस र जिलेटिन पड्केको जो कोहीले अन्दाज गर्न सक्छ, स्थानियले नै सुरक्षा निकायलाई खबर गरेपछि उनीहरु आएका हुन् ।सिटिजन पाेष्ट लेख्छ ।

घटनाका सम्वन्धमा प्रत्यक्षदर्शीसँग बुझ्न आग्रह गर्दा पनि प्रहरी र स्थानिय प्रशासन आयोजनाको बचाउमा लागेको स्थानियको आरोप छ । स्थानिय बासु खड्का भन्छन्,‘जिलेटिन पड्केको आवाजलाई ग्याँस भनेर स्थानियलाई भ्रममा पारियो । यसको छानविन हुनुपर्छ ।’ चार जनाको ज्यानै जानेगरी भएको उक्त विष्फोट ग्याँस सिलिण्डरको नभई आयोजना निर्माणका लागि चट्टान फोर्न प्रयोग हुने जिलेटिनको भएको खड्काको दावी छ । स्थानिय फुर्पा शेर्पाले घटनाको छानविन गर्न माग गर्दै आयोजना साईट कार्यालय टुम्बुक, भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र प्रहरी चौकी नारायणस्थानमा समेत लिखित निवेदनको बोदार्थ दिएको बताए ।

उक्त घटनाका सम्वन्धमा ईलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक यादव थापाले भने, ‘घटनाको छानविन अगाडि बढेको छ । ग्याँस वा जिलेटिन के विष्फोट भएको हो ? त्यसको स्थलगत प्रतिवेदनसहित विष्फोट भएको माटो परिक्षणका लागि प्रहरीको केन्द्रीय प्रयोगशालामा पठाएको छौं ।’ स्रोतका अनुसार घटनास्थलमा ग्याँस पड्किएको कुनै प्रमाण नभेटेपछि प्रहरी र प्रशासनले समेत शंकास्पद घटना मान्दै विष्फोट भएको ठाँउको माटो परिक्षण गर्न प्रयोगशाला पठाएको हो ।

उक्त घटनालाई मिलाउन लगानीकर्ताहरु ज्यान फालेर पैसाको विटो बोकेर हिँडेको समेत स्रोतले बतायो । प्रशासनले समेत फितलो अनुसन्धान गरेर आयोजनाको पक्षमा लागेको भन्दै स्थानियले विरोध गर्दै आएका छन् । आयोजनालाई बचाउन लागेको प्रहरी पछिल्लो समय भने फरक तरिकाले घटनाको अनुसन्धानमा जुटेको स्रोतले बतायो । आयोजनाको निर्माणका क्रममा सुरुङ बनाउन र बाहिरको चट्टान फुटाउन जिलेटिनको प्रयोग हुने गरेको छ । गत चैत्र ११ गते घटेको विष्फोट पनि जिलेटिनकै भएको स्थानियको दावी छ । सुरुदेखि नै स्थानियलाई पेल्दै आयोजना अगाडि बढेको भन्दै विरोध हुँदै आएको थियो ।

छानविनका लागि विभिन्न ठाउँमा उजुरी गरेका शेर्पाले घटनास्थलको फोटोसहित विभिन्न निकायमा उजुरी दर्ता गराएको जानकारी दिए । विष्फोट भएको घटनास्थल समेत उनकै जग्गामा पर्छ । उनले सम्झौंता विपरित जग्गामा गलत काम भइरहेको समेत बताए । भोटेकोसी गाउँपालिका वडा नम्बर-४ का वडाध्यक्ष साङदोर्जे शेर्पा भन्छन्, ‘स्थानियहरुले खाना पकाउने ग्याँस नभई जिलेटिन विष्फोट भएको बताएका छन् । घटनाको निष्पक्ष छानविन हुनुपर्छ । अहिले उक्त ठाउँमा स्थानिय घाँसदाउरा गर्न समेत जान नसक्ने अवस्था छ । सुरक्षाको दृष्टिकोणबाट पनि घटनाको छानविन हुनुपर्छ ।’ उनले घटनालाई लुकाउन खोजिएको र प्रहरी प्रशासनले नै भ्रम फैलाउने खालको सूचना फैलाएको बताए ।

फोटो: विष्फोटपछि देखिएको घटनास्थल

वडाध्यक्ष शेर्पाले थप भने,‘१० ओटा ग्याँसको सिलिण्डर पड्किदा त पुरै गाउँ ध्वस्त हुन्छ । घटनास्थलमा सिलिण्डरको टुक्रा पनि त हुन्छ । तर भवनभित्र भएको ग्याँसको चुलोसमेत केही भएको थिएन ।’ त्यतिमात्र नभई आगोका कारण भवनको जस्तासमेत जल्नुपर्ने अथवा कालो हुनुपर्ने हो तर त्यस्तो पनि नभएको उनले बताए । जसको कारण उक्त विष्फोट काण्ड शंकास्पद भएको उनको दावी छ । चार जनाको ज्यानै जानेगरी भएको उक्त घटनामा मान्छेको टाउको छुट्टिएको, हातखुट्टा र शरिर छिन्नभिन्न भएको अवस्थामा भेटिएको थियो ।

प्रहरी र स्थानिय प्रशासनले गलत रिर्पोट बनाएपछि यतिखेर पुनः अनुसन्धानको माग गर्दै स्थानियले विभिन्न निकायमा उजुरी दिएका छन् । वडाध्यक्ष शेर्पाले समेत गलत रिर्पोट तयार पारेको कारण स्थानियले छानविनका लागि निवेदन दिएको बताए । उक्त विष्फोटमा परी हुम्लामा सुन्दुक लामा, ओखलढुंगाका गोपाल श्रेष्ठ, मकवानपुरका यक्ष थापा र पासाङनोर्बु शेर्पाको ज्यान गएको थियो । उक्त आयोजना शिवश्री हाइड्रो पावरले साविकको मार्मिङ र फुल्पिङकट्टिमा निर्माण गरिरहेको छ । आयोजना २२ मेघावाट हो ।

विष्फोटको दिन उक्त घटनालगत्तै स्थानियहरु घटनास्थलमा पुगेका थिए । स्थानिय प्रत्यक्षदर्शीका अनुसार घटनास्थल पुग्दा न त ग्याँसको गन्ध थियो न त ग्याँस पड्किएर आगलागि भएको थियो । ग्याँसको कुनै टुक्राटुक्री पनि भेटिएको थिएन । तर सुरक्षा टोली घटनास्थलमा पुगेपछि ग्याँस पड्केको खबर फैलायो । स्थानियका अनुसार त्यो सरासर गलत खबर फैलाइएको थियो । ‘बरु स्थानिय त्यहाँ पुग्दा बम पड्केको जस्तो गन्ध आइरहेको थियो । सायद त्यो जिलेटिनकै हुनुपर्छ,’ स्थानिय गोरे शेर्पाले बताए ।