बुधबारदेखि तीन दिन मौसम खराब हुने,सतर्क रहन आग्रह

535

काठमाडाैं। मुलुकभर आज बुधबारदेखि तीन दिन मौसम खराब हुने जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क हुन सचेत गराएको छ । मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासहित वर्षा हुने विभागको अनुमान छ । महाशाखाले तीन दिनको मौसम प्रक्षेपण गर्दै पश्चिमी वायुको प्रभाव आजदेखि थप सक्रिय हुने भएकाले देशैभर असर पर्ने बताएको हो ।

‘पूर्ण र आंशिक बदली भई देशैभर हावाहुरी, चट्याङ, मेघगर्जन, असिना र पानी पर्ने देखिन्छ,’ महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन् । इरान, पाकिस्तान, भारत हुँदै सोमबार पश्चिम क्षेत्रबाट पश्चिमी वायु नेपाल छिरेको हो ।

‘मंगलबार रामेछापसम्म पुगेको मौसमी प्रणाली पूर्वतिर सरिरहेको छ,’ उनले भनिन्, ‘बुधबार अझ बिग्रिने देखिन्छ ।’ मंगलबार रामेछापभन्दा पश्चिमका भागमा मेघगर्जनसहित वर्षा भएको उल्लेख गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने जनाएको छ ।