बलराम प्यासी
काठमाडौं । ३५ वर्षिय नेपाली खगोलशास्त्री प्रा.डा.सुमन सत्याल सहितको ६ सदस्यीय वैज्ञानिक टोलीले गत बुधबार (बैशाख ४ गते) ‘केप्लर—४७ डि’ नामक नयाँ ग्रह पत्ता लगाएका छन् । दुईवर्षअघि वैज्ञानिक प्रा.सत्याल सहितको अर्काे टोलीले सौर्यमण्डलमा नयाँ ग्रह ‘ग्लिजा ८३२ डि’ पत्ता लगाएको थियो ।
अमेरिकाको टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनका प्राध्यापक सत्याल सहितको वैज्ञानिक टोलीमा सान डियागो विश्वविद्यालयका जेरोम ओरोसज र विलियम वेल्श, हवाई विश्वविद्यालयका नादेर हाघिघिपौर, ओक्लोहामा विश्वविद्यालयका बिल्ली क्वार्लस तथा नासाका वैज्ञानिक ज्याक लिस्साउएर छन ।
सामाजिक सञ्जाल मेसेञ्जरबाट कुरा गर्दै वैज्ञानिक प्रा.सत्यालले अरनिको टेलिभिजनका सह सम्पादक बलराम प्यासीसंग नयाँ ग्रहको बारेमा बताएका हुन ।
वैज्ञानिक प्रा.सत्यालका अनुसार पत्ता लागेको नयाँ ग्रह हाइड्रोजन र हिलियम रसायनले भरिएको पाइएकोले यसमा मानव या अन्य कुनै जीव बस्न सक्दैन । २ वटा सुर्यको वरिपरि घुम्ने ‘केप्लर—४७ डि’ मल्टीप्लानेट सिस्टम भएको पनि वैज्ञानिक सत्यालले बताएका छन् ।
Scientist suman satyal
नयाँ ग्रह ‘केप्लर ४७ डि’ वरुण अर्थात नेप्च्युन ग्रह जत्रो करीव ५० हजार वर्गमिटर व्यासको रहेको बताइन्छ । यसअघि केप्लर—४७ बि र ४७ सी पत्ता लागिसकेको पनि वैज्ञानिक प्रा.सत्यालले बताए ।
सन् २०१० देखि टेक्सास विश्वविद्यालय, आर्लिङ्गटनमा खगोलशास्त्र विषयमा प्राध्यापन गर्दै आएका वैज्ञानिक सत्याल विगत ९ वर्षदेखि सौर्यमण्डलमा नयाँ ग्रहको खोजीमा सक्रिय छन् । उनी नेपाल खगोलशास्त्री समाज (नासो) का सल्लाहकार समेत हुन । रामप्रसाद सत्याल र गोमादेवी सत्यालका जेठा छोरा सुमन काभ्रे जिल्ला बाँसडोलमा ३५ वर्षअघि जन्मेका हुन ।
वैज्ञानिक सत्यालको सहयोगमा नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खगोलशास्त्रमा स्नातकोत्तर सकेका ३ जना खगोलशास्त्री विद्यार्थीहरु सुष्मा खनाल, मेघनाथ चालिसे र जिपि अधिकारीले खगोलशास्त्र विषयमा पिएचडि शोधकार्य गरिराखेका छन् । अर्थात प्रा.सत्याल उक्त शोधकार्यको सल्लाहकार (थेसिस एड्भाइजर ) समेत हुन ।
अमेरिकामा बसेर विज्ञान क्षेत्रमा विशिष्ट योगदान गरेवापत नेपाल सरकारले २ वर्षअघि एकलाख रुपैयाँको राशीसहित उत्कृष्ट युवा पुरस्कारले सम्मान गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई काठमाण्डौमा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरेकी थिइन् ।