राष्ट्रिय सभा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै

56

१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत  पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचन अधिकृत नियुक्त यसअघि नै गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।

मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।