धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

38

चितवन, माघ २ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गर्नुभएको छ ।

चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेसनले निर्माणकार्य अपूरो छोडेको छ ।

अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।’
उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी दिनुभयो ।

फाउण्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर कामको मूल्याङ्कन गर्दा जम्मा १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । हाल कुनै काम भएको छैन ।