समुद्री लुटेरासँग एकसाथ भिडे चिनियाँ र भारतीय सेना

419

नयाँ दिल्ली: दलाई लामालाई लिएर भारत र चीनको सम्बन्धमा तिक्तता बढिरहेका बेला यी दुई देशका सेना एउटा अप्रेशनका लागि एकैठाउँ उभिएका छन् ।

दुवै देशका नौसेना मिलेर एक संयुक्त अपरेशनलाई सफल बनाएका हुन् । समाचार अनुसार सोमालिया नजिकैको एडनको खाडीमा एक पानीजहाज अपहरणमा परेको समचार आएको थियो ।

त्यसपछि दुवै देशका नौसेना मिलेर जहाज अपहरणमा संलग्न लुटेराविरुद्धको अप्रेशनलाई सफल बनाएर अपहृत पानीजहाजलाई मुक्त गराएका हुन्।

जापान र दक्षिण चीन सागरलाई लिएर दुवै देशका नौसेनाबीच ठुलो टकराव रहेको छ । जापानको हिन्द महासागरमा स‌ंयुक्त अप्रेशनमा भाग लिएपछि चीनले भारतीय नौसेनामाथि आक्रोश पोखिरहेको छ।

समाचार अनुसार भारतको नेभीले गत वर्ष जापानसँग मिलेर हिन्द महासागरमा तालिम गर्दै गरेको देखिएको थियो । यसका अलावा दक्षिण चीन सागरलाई लिएर इन्डियन नेभीको गतिविधिलाई लिएर चीनले निरन्तर  आपत्ति जनाइरहेको छ ।

सूत्रलाई उधृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार लुटेराले जहाज अपहरण गरेको सूचना पाएपछि भारतीय नौसेनाले आफ्नो आईएनएस तर्कास र आईएनएस मुम्बईलाई अप्रेशनका लागि एडनको खाडीमा पठाएको थियो ।

एडन खाडी क्षेत्रमा लुटेराहरुको आतंक रहेको छ । अप्रेशनका क्रममा चिनियाँ जनमुक्ति सेनाको नौसेना डिभिजनबाट युद्धक पनडुब्बीलाई लुटेरासँग भिड्न उतारिएको थियो ।

बौद्ध धार्मिक गुरु दलाई लामाको अरुणाचल प्रदेशको यात्रालाई लिएर चीन भारतसँग रिसाएको छ । चीनले यसको बदलामा कश्मिरमा हस्तक्षेप गर्ने धम्की दिँदै आएको छ । यस घटनाक्रमकाबीच दुबै देशका नौसेना एकसाथ अप्रेशनमा उत्रिँदा बढ्दो तिक्ततालाई कम गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ ।