मोफसलमा सेयरः एक वर्षमा अर्बभन्दा बढीको कारोबार

383

धनगढीः आर्थिक सूचकाङ्कमा पछि परेको सुदूरपश्चिममा पनि सेयर कारोबारप्रति व्यवसायीहरु आकर्षित भएका छन् ।

केही वर्ष अघिसम्म सेयर बजारमा शून्य गतिविधि रहेको सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा धितोपत्रको कारोबार खुलेसँगै व्यवसायीले धमाधम सेयर किनबेच गर्न थालेका हुन् ।

दुई वर्षदेखि धनगढीमा कारोबार गर्दै आएको दीपशिखा धितोपत्र कम्पनीमा दैनिक ५० देखि ६० लाखसम्मको सेयर किनबेच भइरहेको छ ।

कम्पनीमा हाल १५ सयजनाले डिम्याट खाता खोलेर सेयर कारोबार गर्दै आएका छन् । कम्पनीमार्फत गत आर्थिक वर्षमा १ अर्बभन्दा बढीको कारोबार गरेको दीपशिखा धितोपत्र कम्पनीका शाखा प्रबन्धक निर्मल पाठकले बताए ।

पहिले सीमित व्यक्तिले राजधानी पुगेर सेयरको कारोबार गर्ने गरेको भए पनि धनगढीमै कम्पनी खुलेपछि सजिलो भएको उनले बताए ।

बोनस, नगद लाभांस, हकप्रदक सेयरबारे अनभिज्ञ धेरैजसो व्यवसायीलाई आजभोलि यसबारे जानकारी गराउँदा कारोबार गर्न सहज भएको छ ।

इच्छा भएर पनि यसबारे जानकारी नहुँदा लगानी गर्न नसकेका व्यवसायीहरुले सेयरमा लगानी बढाउन थालेका छन् ।