सरकारले सुरक्षा नदिँदा सप्तरीमा ५ जनाको मृत्युः संसदीय समिति

260

काठमाडौं । सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गर्न नसक्दा सप्तरी घटनामा ५ जना सर्वसाधारणको मृत्यु भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

सप्तरी घटनाका सम्बन्धमा स्थलगत अध्ययन गरी सुझाव पेश गर्न गठित व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तरगतको उपसमितिले भरपर्दो सुरक्षा व्यवस्था नहुँदा सप्तरी घट्ना भएको निष्कर्ष निकालेको हो ।

उपसमितिले तयार पारेको प्रतिवेदन आईताबार मानव अधिकार समितिलाई बुझाएको छ । प्रतिवेदनमा सामाजिक सदभाव बिग्रन नदिन एवम् भीडन्तको अवस्थाबाट सचेत रहन सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।

प्रतिवेदनले सप्तरी घटनामा मृत्यु भएकाका परिवारलाई १० लाखका दरले दिने भनिएको राहत रकम तत्काल उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दिएको छ ।

सप्तरी घटनामा परी मृत्यु भएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारिएको उपसमितिका संयोजक मोख्तार अहमदले जानकारी दिनु भयो ।

गत फागुन २३ गते सप्तरी जिल्लाको मलेठमा नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा मधेसी मोर्चा र प्रहरीबीचको झडपमा ५ जनाको मृत्यु भएको थियो ।