274

भक्तपुर– भक्तपुरका दुई शिक्षकले संयुक्त रुपमा विज्ञान किताब लेखेका छन् । कक्षा १० का विद्यार्थी र शिक्षकलाई सहयोग पुग्ने गरी विज्ञान शिक्षकद्वय कृष्णप्रसाद छुस्याकी र नवीन्द्रलाल कर्माचार्यले ‘साइन्स प्राक्टिकल बुक’ लेखेका हुन् । उनीहरु २०७१ सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भएर स्थायी पदस्थापन भएका थिए ।
शिक्षकद्वय छुस्याकी भक्तपुरको नंखेलस्थित भुवनेश्वरी मावि र कर्माचार्य भने च्याम्हासिँहस्थित वागीश्वरी माविका विज्ञान शिक्षक हुन् । उनीहरुले आफूहरुले शिक्षणको क्रममा विज्ञानमा अनिवार्य रुपमा गराउनुपर्ने प्रयोगात्मक अभ्यासका सन्दर्भमा शिक्षकहरुमै पनि अन्योलको अवस्था रहेको कुराको मनन् गरी पुस्तक तयार लेखेको बताए ।
उनीहरुले विज्ञान विषयका हरेक पाठहरुमा पाठ्यक्रम विकास केन्द्रले अनिवार्य रुपमा प्रयोगात्मक अभ्यास गर्न निर्देशन नै दिए पनि सो निर्देशनको पालना अधिकांश विद्यालयहरुमा नुहँदा विज्ञान विषयलाई घोक्ने विषयको रुपमा विद्यार्थीले बुझेकोप्रति गुनासो गर्दै विज्ञान शिक्षकले पनि प्रयोगात्मक अभ्यासलाई टार्ने गरिएको जनाए । ‘प्रयोगात्मक अभ्यास भनेर परीक्षा लिने तर कुनै स्रोत र साधन विनै परीक्षा लिएर विद्यार्थीको अनुहार र व्यवहार हेरी मूल्यांकन गर्ने परिपाटीको अन्त्य गराउन सहयोग मिलोस् भनेर सो पुस्तक लेखेका हौं ।’ शिक्षकद्वय छुस्याकी र कर्माचार्य भन्छन् ।
एक वर्ष लगाएर लेखिएको सोही पुस्तकको आज एक समारोहकाबीच विमोचन गरिएको छ । पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका पूर्व डिन प्राध्यापक पृथुचरण वैद्यले गरेका थिए ।
कार्यक्रममा सहभागी प्राध्यापकहरु क्रमशः राजुभाइ त्यात, सिद्धिवीर कर्माचार्य, सरोजराज गोसाँइलगतयले विज्ञानलाई प्रयोगसँग जोड्ुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
वक्ताहरुले विज्ञानलाई दैनिक जीवनसँग जोड्न र शिक्षकलाई प्रयोगात्मक अध्यास गराउने मार्गचित्र हुने बताउँदै प्रयोगात्मक गराउने पुस्तकको अभावको पूर्ति गर्ने पनि बताए ।
कार्यक्रम पुस्तक प्रकाशक हेरिटेज पब्लिशर्स एण्ड डिष्ट्रिब्युटर्सका प्रबन्धक बाबुराम गौतमको सभापतित्वमा भएको थियो । पुस्तकको सम्पादन ख्वप कलेजका प्राध्यापक ऋद्धिभक्त कोजुले गरेका छन् ।