सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग आजबाट सुरु

450

नेपालकै सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण आज बाट सुरु हुँदैछ । धनगढीमा आगामी बैशाख ९ गतेसम्म चल्ने डीपीएल क्रिकेटमा ६ टिमको सहभागिता रहने छ ।

टी–ट्वान्टी फरम्याटमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बिचमा खेल हुनेछ । यस संस्करणमा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङस, कन्चनपुर आईकोनिक र काठमाडौ गोल्डेन्सले सहभागिता जनाएका छन । सबै सहभागी टिमका कप्तानि राष्ट्रिय टिमका सदस्यहरूले सम्हालेका छन् ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काले टिम चौराहाको कप्तानी सम्हाल्नेछन् । उपकप्तान ज्ञानेन्द्र मल्लले सीवाईसी अत्तरियाको कप्तानी सम्हाल्नेछन । त्यस्तै विराटनगर टिमको कप्तानी शरद भष्वाकर, काठमाडौं गोल्डेन्स बसन्त रेग्मी, कन्चनपुर आईकोनिक बिनोद भन्डारी र रूपन्देही च्यालेन्जर्सको कप्तानी शक्ति गौचनले सम्हाल्नेछन् ।

धनगढी प्रिमियर लिगको चौथो संस्करणको बिजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उपविजेताले भने ७ लाख पाउनेछ । प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिनेछ । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । उसले तेस्रो र चौथो टिमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । प्रतियोगिता अञ्चल प्रहरी मैदानमा हुनेछ भने फाप्ला मैदानलाई पनि वैकल्पिक मैदानको रुपमा राखिएको छ ।