भक्तपुर नगरपालिकामा नेमकिपा र थिमीमा कांग्रेसलाई पत्ता साफ गर्ने दाउपेज रचिदै

3286

भक्तपुर, । भक्तपुरका चार नरगपालिमा भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा पूर्ववर्ती नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसलाई जित्न नदिने रणनीतिमा सबै दल लागिपरेका छन् ।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरू आफ्नो पकडका नगरपालिकामा आफु कसरी जित्ने पहिला अरुले जितेकामा उनीहरुलाई कसरी हराउने भन्ने लेखाजोखामा नै ब्यस्त भएको पाईन्छ ।
नेपाल मजदुर किसान पार्टीको गड मानियको भक्तपुर नगरपालिकामा उनीहरुलाई कसरी पत्ता साफ गर्ने भनी अहिले दलहरु आफैमा जोड घटाउको राजनितीमा लागेको प्रत्यक्ष रुपमा देख्न सकिन्छ भने मध्यपुर थिमीमा काँग्रेस अन्य दललाई टाउको दुखाई रहेको प्रस्ट छ ।

दुईभन्दा बढी दल नमिली जीत सुनिश्चित नभएका भक्तपुर नगरमा कुन दलसँग तालमेल गर्दा दलको अस्तित्वसँगै नेता कार्यकर्ताहरूको मन राख्न सकिन्छ भन्ने विभिन्न विकल्पमा दलहरू रूमलिरहेका छन् ।
भक्तपुर नपामा नेमकिपाविरूद्ध कांग्रेस, माओवादी र राप्रपाले तालमेल गर्ने लगभग निश्चित भइसकेको छ । तर भक्तपुर नपामा एमाले अन्योलमा रहेको छ ।
यहाँ नेमकिपाविरूद्ध जाँदा अन्य नपामा आफूविरूद्ध नेमकिपा जाने उसलाई राम्रो जानकारी छ । त्यसैले एमालेलाई भक्तपुर नपा टाउको दुःखाई बनेको छ ।
भक्तपुरमा नेमकिपाविरूद्ध कांग्रेस, माओवादी र राप्रपाले तालमेल गरेपछि उनीहरूलाई पनि अन्य नपामा नेमकिपा बलियो प्रतिपक्षी बन्नसक्छ । यस गठबन्धनले उनीहरूलाई अन्य नगरपालिकामा नेमकिपासँग तालमेल गर्न पक्कै सहज हुनेछैन । तर चाँगुनारायण र सूर्यविनायक नपामा नेमकिपासँग तालमेल गरेर जानुपर्ने आवाज कांग्रेसभित्रै सुनिएको छ ।
एमाले, माओवादी र राप्रपासँग तालमेल गर्दा चुनावमा धोका हुनेमा ९९ प्रतिशत कांग्रेसी विश्वस्त छन् तर नेमकिपासँग तालमेल गर्दा सत प्रतिशत अन्तघात हुँदैन भन्नेमा कांग्रेसीहरू ढुक्क छन् । त्यसैले कांग्रेसको जिल्ला नेतृत्व भक्तपुर नगरपालिकाको तालमेललाई अन्य नगरपालिकामा लागू गर्न चाहँदैनन् तर भक्तपुरमा एउटा र अन्य नपामा अर्को दलसँग तालमेल हुने सम्भावना राजनीतिक रूपले नैतिक हुँदैन ।
कांग्रेसलाई यसपालि मध्यपुर थिमि नगरपालिका आफ्नो प्रभाव जोगाइराख्न कम चुनौतीपूर्ण छैन । त्यसैले कांग्रेसलाई मध्यपुर थिमिमा आफ्नो अस्तित्व जोगाउँदै नयाँ नपामा आफ्नो प्रभाव पुष्टि गर्न एक्लै सम्भव छैन । यसैले पनि मध्यपुर थिमिलाई सुरक्षित राख्दै सूर्यविनायक र चाँगुनारायण नपामा आफ्नो उपस्थिति सावित गर्न विश्वासयोग्य पार्टीसँग तालमेल गर्नुको विकल्प छैन ।
त्यस्तै नेमकिपालाई भक्तपुर नपामा आफ्नो पूर्ववर्ती प्रभावलाई जोगाउने चुनौती पनि त्यत्तिकै छ । एकातिर हिजो १७ वटा वडा छँदा दुई वडा गुमाएको नेमकिपालाई अहिले १० वटा वडामा खुम्च्याइएपछि सबै आफ्नो पोल्टामा पार्ने अवसर आएको छ । तर यो अवसर छोप्न कम चुनौतीपूर्ण छैन ।
भक्तपुर नपामा नेमकिपालाई परास्त गर्न कांग्रेस, माओवादी खुलेरै लागेको छ । हिजो एमालेसमेत नेमकिपाविरूद्ध थियो । एमाले नेता र कार्यकर्ताहरूको सेन्टिमेन्ट अहिले पनि नेमकिपाविरोधी छ । तर एमाले अध्यक्ष केपी ओलीको सरकार ढालेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि एमाले र नेमकिपाबीच केन्द्रमै मोर्चा बनेको छ । हुन त ओलीलाई प्रधानमन्त्री बनाउन नेमकिपाले पनि मतदान गरेका थिए । त्यहींबेलादेखि एमाले र नेमकिपाबीच राष्ट्रिय मुद्धामा एकमत हुँदै आएको छ ।
यस हिसाबल भक्तपुर नपामा एमालेलाई नेमकिपाविरूद्ध जान दुईपटक सोच्नैपर्छ । तर यसो भनेर भक्तपुरका अन्य नपा गुमाउन एमालेका जिल्ला नेता तथा कार्यकर्ता तयार छैनन् । एमालेका स्थानीय नेताहरू नेमकिपालाई भक्तपुर नपाभित्रै खुम्च्याएर उ जित्ने अन्य नपाका वडामा समेत ‘जसरी’ पनि हराउनुपर्छ भन्नेतिर लागेका छन् । यसहिसाबले नेमकिपा सबल रहेको साविक ताथली, छालिङ, कटुञ्जे, चित्तपोलसँगै मध्यपुर थिमि नपाको साविक २ र ३ वडामा नेमकिपा बढार्ने उनीहरूको अभियान नै रहेको बुझिएको छ ।