हेटौंडा: राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले मधेशी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गर्न सरकार तयार रहेको बताउनुभएको छ। हेटौँडामा विहीबार भएको राप्रपाको चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री थापाले मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गर्न सकिने बताउनुभएको हो।
निर्वाचन बहिस्कार जस्तो अप्रिय निर्णय नलिन मोर्चालाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘तपाईहरु सहमतिमा आउनुहोस्, निर्वाचन दुई चरणमा गर्न सकिन्छ।’ मोर्चालाई सहमतिमा ल्याउन सरकार र र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले समेत लागि परेको उहाँले जानकारी दिनुभयो । शान्ति कामय गर्दै विकासको दिशामा अघि बढ्ने वा स्थिरता कायम राख्ने,त्यसको फैसला निर्वाचनले गर्ने भएकाले सबैलाई सहभागी हुन थापाले आग्रह गर्नुभयो।
स्थानीय तह निर्वाचनमा राप्रपाका एजेण्डाहरु बारे बोल्दै अध्यक्ष थापाले राप्रपा विजयी भए गौ हत्यारालाई कडा कारबाहीको कानुन निर्माणसँगै स्थानीय तह एक गौशला निर्माण गर्नेसम्मको घोषणा गर्नुभयो। ‘राप्रपा विजयी भए धर्म बिरोधी कुरा र गौ हत्यालाई रोक्छौं, प्रत्येक गाउँपालिका र नगरपालिकामा गौशला निर्माण गर्नेछौं’,उहाँले भन्नुभयो।
धर्मको नामममा हुने गरेका अन्याय तथा विभेदपूर्ण ब्यवस्थालाई अन्त्य गर्नुका साथै हिन्दु धर्मको संरक्षण गरिने उहाँको भनाई छ। साथै राप्रपाले विजयी हाँसिल गरे प्रत्येक गाउँपालिकामा एक इन्जिनियर र डक्टरलाई निशुल्क पढाउने समेत उहाँले घोषणा गर्नुभयो।
कार्यक्रममा बोल्दै राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्सेर राणाले संविधान संशोधनमा लचिलो भएर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सामेल गराउन सरकारलाई आग्रह गर्नुभयो। कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, केन्द्रीय सदस्य एवं गायिका कोमल वली, नायिका रेखा थापा,केन्द्रीय सदस्य दिपकबहादुर सिंह, पूर्व केन्द्रीय सदस्य मधु अधिकारी, सांसद गणेश थापा लगायतले राप्रपा बैकल्पिक शक्तिको रुपमा अघि बढेको भन्दै राप्रपाबाट मात्रै देश विकास सम्भव रहेको दावि गर्नुभएको थियो।
मयेरमा अधिकारी प्रत्यासी
राप्रपाले हेटौंडा उपमहानगरपालिकाको मेयरमा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । सभामा अधिकारीलाई उम्मेदवार घोषणा गरिएको हो। २०४५ सालदेखि राजनीति यात्र सुरु गरेका अधिकारी पूर्व राजा ज्ञानेन्द्र शाखाको पालमा हेटाँैडा नगरपालिकाको दश महिना मेयर समेत भएका थिए।