देब बिकास बैंकले कसरि गर्यो लोभलाग्दो प्रगति ? इपिएसमा ११० प्रतिशतको वृद्धि हुँदा लगानी कति फाइदामुलक ?

324

देब बिकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा लोभलाग्दो प्रगति विवरण पेश गरि लगानीकर्ताको ध्यानकर्षण गर्न सफल बनेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा बैंकले २५५ प्रतिशतले बढाएर १९ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

बिजपाटी डटकमले देब बिकास बैंकको तेस्रो त्रैमासको कमाई २० करोड रुपैयाँ हुने प्रक्षेपण गरेको थियो। बिजपाटी डटकममा प्रस्तुत प्रक्षेपण रिपोर्ट भन्दा देबको कमाई केहि लाखले कम देखिएको हो।

खुद ब्याज तथा संचालन आम्दानी बढाउँन सफल रहंदा बैंक आकर्षक कमाई गर्न सफल देखिएको छ। यस अवधिमा बैंकको संचालन मुनाफा ३१ करोड ४० लाख र खुद ब्याज आम्दानि ३९ करोड ७० लाख ५३ हजार रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २२ करोड ३३ लाख तथा संचालन मुनाफा ८ करोड ७२ लाख थियो।

यस अवधिमा बैंकले ९ अर्ब ८१ करोड निक्षेप संकलन गरि ८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकल ७ अर्ब ३१ करोड निक्षेप संकलन गरि ६ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको थियो।

कर्जा विस्तार गरि कारोबार बढाउने क्रममा कर्जा प्रवाहमा उल्लेख्य प्रगति गर्दै गर्दा बैंकले निष्क्रिय कर्जामा सन्तुलन राख्न सफल देखिएको छ। बैंकको खराब कर्जा अनुपात ४ दशमलब ९६ प्रतिशतबाट घटेर १ दशमलब ३९ प्रतिशतमा झरेको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुंजी ६९ प्रतिशतले तथा जगेडा कोष रकम ३४ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १९ रुपैयाँ १९ पैसा, प्रति सेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा, लागत कोष ६ दशमलब ९५ प्रतिशत, मूल्य आम्दानीको अनुपात १४ दशमलब ०७ गुणा तथा कर्जा निक्षेप अनुपात ७६ दशमलब १७ प्रतिशत रहेको छ। बैंकले भर्खरै मात्र साझा बिकास बैंक र युनियन फाइनान्सलाई एक्वायर गर्ने निर्णय गरेको छ।

बैंकको प्रति सेयर आम्दानीमा ११० प्रतिशतको वृद्धि हुँदा लगानी कति फाइदामुलक ? 

समिक्षा अवधिमा बैंकको प्रति सेयर आम्दानि ११० प्रतिशतले बढेका छन् भने अधिकांश सूचकले सकारात्मक संदेश दिएका छन्। बैंकको चुक्ता पुंजी वृद्धि हुँदा उसको जगेडा कोषको रकमको साथ साथै संचालन आम्दानीमा समेत उल्लेख्य प्रगति देखिएको छ। कारोबार बिस्तार गर्ने क्रममा निक्षेप संकलन गरि कर्जा प्रवाह गर्दा उसको खराब कर्जा अनुपात ७० प्रतिशतले घट्नुले वित्तीय विवरणको आधारमा बैंकको सेयरमा लगानी सुरक्षित देखिन्छ।