भूकम्पपीडितका लागि भक्तपुरका दलका यस्ता छन् एजेन्डा

365

भक्तपुर  भक्तपुरका राजनीतिक दलले निर्वाचनका लागि स्थानीय एजेन्डा बनाएका छन् । भक्तपुरका प्रमुख राजनीतिक दल नेमकिपा, कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले आ–आफ्नै एजेन्डा बनाएका हुन् । ०७२ को महाभूकम्पले भक्तपुरमा अतुलनीय क्षति पुगेको थियो । जहाँ भूकम्पमा परी ३ सय ३३ जनाले ज्यान गुमाएका थिए ।

सरकारले छब्बीस हजार ६६ परिवारलाई लाभग्राहीको सूचीमा राखेको छ । जसमा करिब २० हजार तीन सयलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराइसकेकोे स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । तर, सुरक्षित आवास भने अझै निर्माण हुन सकेको छैन । तिनै भूकम्पपीडितलाई लक्षित गर्दै राजनीतिक दलले आ–आफ्नै एजेन्डा तयार गरेका छन् । जसमा नेपाली कांग्रेसले समग्र भूकम्पपीडितको घर निर्माणका लागि नक्सा पास निःशुल्क गरिदिने, पीडितलाई तत्काल घर निर्माणको अनुदान रकम उपलब्ध गराउने मुख्य एजेन्डा रहेको जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

त्यस्तै, भक्तपुरको समृद्धिका लागि कृषि, धार्मिक र पर्यटन विकासमा पनि त्यत्तिकै जोड दिने थापाले बताए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्पपीडितलाई स्थायी बसोवास र पुनर्निर्माणका लागि उचित बन्दोबस्त गराउने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पर्यटकीय र धार्मिक क्षेत्रलाई विकास गर्ने आफूहरूको मूल एजेण्डा रहेको जिल्ला उपाध्यक्ष बचन देउजाले बताए ।

भक्तपुरमा चार नगरपालिका छन् । जसमा माओवादी केन्द्रले त्यहाँका पुरातात्विक सम्पदालाई विकास गर्ने र भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माणमा जोड दिने मुख्य एजेन्डा रहेको जिल्ला इन्चार्ज देवेन्द्र श्रेष्ठले बताए । साथै, सरकारले पुनर्निर्माणका लागि दिने भनिएको सहुलियत ब्याजको ऋण पीडितलाई उपलब्ध गराउन सहयोग गर्ने र नगरपालिकाका तर्फबाट भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने माओवादी केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रले भूकम्पपीडितलाई ५० प्रतिशत कर छुटको व्यवस्था गरिदिने श्रेष्ठले बताए ।

भक्तपुरमा बलियो पार्टीका रूपमा लिइने नेपाल मजदुर किसान पार्टीले भूकम्पीय क्षति कम हुने प्रविधि प्रयोग गरी घर–भवन संरचनाको निर्माण गर्नका लागि आवश्यक डकर्मी र सिकर्मीलाई तालिम दिने घोषणापत्रमार्फत जनाएको छ ।

त्यस्तै, चौथो ठूलो दल राप्रपाले भूकम्पपीडितले सुरक्षित आवासका लागि पाउनुपर्ने अनुदान उपलब्ध गराउन कुनै कसुर नराख्ने जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।