कटुञ्जेलाई धर्म परिवर्तन मुक्त क्षेत्र बनाइने

6199

भक्तपुर । कटुञ्जेवासीले कटुञ्जेलाई धर्म परिर्वतनमुक्त स्थल घोषणा गर्ने भएका छन् । भक्तपुरको सो क्षेत्रमा सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि शुक्रवारबाट सुरु हुने श्रीमदभागवत महापुराण सप्ताह महाज्ञान समारोहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा धर्म जागरण नेपालका कार्यकर्ता राघव उपाध्यायले क्रिश्चियनहरुले विभिन्न लोभ लालच एवं डर देखाएर धर्म परिर्वतन गराई आएको त्यसका विरुद्धमा सव एकजुट हुन आवश्यक भएको बताउँदै जर्बजस्ती धर्म परिवर्तन विरुद्ध लागिरहेका कटुञ्जेवासीको प्रशंसा गरे । उनले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेसँगै थुप्रै डलरवादी संघसंस्थाहरु लागेर हिन्दू धर्मप्रति आस्था राख्ने नेपालीहरुलाई भड्काइरहेको बताउँदै धर्म परिवर्तन गर्नु भनेको आमा फेर्नुजस्तै भएको बताए । ‘धर्म परिवर्तन गरेका खण्डमा यो दिन्छु, त्यो दिन्छु भनेर लोभलालच देखाइरहेका छन्, त्यसका विरुद्ध हामी नेपाली एकजुट हुनु जरुरी छ ।’कार्यक्रममा उनले भने । सोही अवसरमा वक्ताहरुले सनातन परम्परामा आफ्नो संस्कृतिलाई निरन्तरता दिने कूल जनसंख्याको ८५ प्रतिशत हिन्दूहरु भएको देशको रुपमा चिनिएको नेपालमा पछिल्लो समयमा बढेको धर्म परिवर्तनले थुप्रै विकृतिहरु निम्त्याइरहेकोप्रति राज्यकै ध्यान जानुपर्ने पनि माग गरेका थिए ।
कटुञ्जेको चुनदेवीमा सामुदायिक भवन तथा मन्दिर निर्माणको उद्देश्यका साथ गर्न लागेको सो श्रीमदभागवत महापुराण सप्ताह महाज्ञानको सबै तयारी सकिएको जानकारी दिँदै समारोहका अध्यक्ष गणेशभक्त साखले भागवतवाट एक करोड पचास लाख रुपैँया संकलन हुने बताए ।‘ उक्त पैसावाट कटुञ्जे हाल सुर्यविनायक नगरपालिका ५ वडा चुनदेवीमा एक क्रियापुत्री भवन तथा सामुदायिक भवन निर्माण गर्नेछौं ।’ उनले भने ।
२०७४ वैषाख १५ गतेदेखि २२ गतेसम्म चल्ने महायज्ञमा पण्डित रामकृष्ण उपाध्ययले वाचन गर्ने समारोहका महासचिव अनुप केसीले जानकारी दिए ।
सप्ताहमा दैनिक ब्राम्हण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा ब्राम्हण बरण, लाखबत्ती प्रज्ज्वलन लगायतका कामहरु हुने सप्ताह आयोजक समितिका धु्रब लुइँटेलले जानकारी दिए ।