भक्तपुर नपामा नेमकिपाले पुरानैलाई दोहोर्‍याउने

524

भक्तपुर: वैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरको जेठो भक्तपुर नगरपालिकामा नेमकिपाले अधिकांश पुरानैलाई दोहोर्‍याउने भएको छ।नेमकिपा स्रोतका अनुसार २०५४ सालको निर्वाचनमा जितेका पुरानै अनुहारलाई अहिलेको निर्वाचनमा पनि दोहोर्‍याउने भएको हो।

जसअनुसार धेरै वडाध्यक्षहरु दोहोरिने भएका छन्। मेयर या उपमेयरमध्ये एकजनामा महिला हुनुपर्ने भएकाले उपमेयरमा र केही वडामा नयाँ अनुहार आउने नेमकिपा भक्तपुर नगर समितिले जनाएको छ।समितिका अनुसार भक्तपुर नगरपालिकाको मेयरमा सांसद प्रेम सुवाल दोहोरिने सम्भावना छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरुको व्यवस्थापनसँगै ख्वप विश्वविद्यालयको सुनिश्चितताको लागि भए पनि तत्काललाई मेयरमा प्रेम सुवालको विकल्प नभएको पार्टीभित्र कुरा उठेको छ।२०७४ माघभित्र संसदीय निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण पनि सांसद सुवाल मेयरमा फर्कनेसक्ने सम्भावना पनि उत्तिकै छ।

सुवालबाहेक नेमकिपाले मेयरमा पूर्वउपमेयर एवं पार्टीका केन्द्रीय कोषाध्यक्ष चैत्यराज शाक्य र पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिको चर्चा अघि ल्याएको छ।पार्टी केन्द्रीय सचिव प्रजापति २०५४ सालको स्थानीय निर्वाचनमा प्रेम सुवाल मेयर र चैत्यराज शाक्य उपमेयर जित्दा भनपा २ वडाको अध्यक्ष निर्वाचित हुनुभएको थियो।

मेयरका सम्भावित पूर्वउपमेयर भक्तपुर नपा १० को वडाध्यक्ष बन्ने चर्चा चलेको छ। उक्त वडामा अन्य सम्भावित नेताहरु नभएकाले उपमेयर बनिसक्नु भएका शाक्यलाई वडाध्यक्ष बनाइन लागेको बताइएको छ।

 

नेमकिपाले मेयर भइसक्नुभएका स्व. ज्ञानबहादुर न्याइच्याईंलाई वडा अध्यक्ष बनाएको नजिर भएकाले शाक्य पुनः वडा अध्यक्ष नबन्ने भन्ने प्रश्न आउँदैन।उपमेयरमा पूर्ववडा अध्यक्ष रोशनमैंया सुवाल निश्चित प्रायः भइसक्नुभएको छ। उहाँ पार्टीको महिला संगठनको भक्तपुर नगर अध्यक्षसमेत हुनुहुन्छ।

तर उपमेयरका नयाँ पुस्ताको तर्फबाट सूलोचना छ्वाजूको नामसमेत अगाडि सारिएको छ। तर अनुभवको आधारमा सुवालको पल्ला भारी छ।पहिले १७ वटा वडा भएको भक्तपुर नगरमा पछिल्लो पुनर्संरनाको क्रममा १० वटा वडामा खुम्च्याइएको छ।

जसअनुसार नेमकिपाले १ वडामा किसान नेता स्व. ज्ञानबहादुर न्याइच्याईका छोरा रमेश न्याइच्याईलाई वडा अध्यक्ष बनाउने लगभग पक्का भइसकेको छ।
त्यस्तै २ वडामा पूर्ववडा अध्यक्ष रवीन्द्र खर्बुजालाई नै दोहोर्‍याइने सम्भावना छ। नेमकिपाइतरबाट समेत रुचाइनुभएका खर्बुजा मेयरका दावेदारसमेत हुनुहुन्छ। उहाँ नेमकिपा भक्तपुर नगर समितिका अध्यक्षसमेत हुनुहुन्छ।

नेमकिपाले वडा नं ३ मा भने व्यवसायी आशाराम वैद्य वा मजदुर नेता राजकृष्ण गोरालाई वडा अध्यक्षको टिकट दिने चर्चा छ।त्यस्तै ४ नम्बरमा पनि मजदुर नेता उपेन्द्र सुवाल, पूर्ववडाध्यक्ष कुमार चवाललाई अघि सारिएको।

५ नम्बरमा भने हिमालयश्वरलाल मूलको सम्भावना बढी छ। उहाँ पनि पूर्ववडा अध्यक्ष हुनुहुन्छ। ६ नम्बरमा भने शिक्षक गणेशराज थुसाको चर्चा छ। उहाँ नेमकिपा भक्तपुर नगर सचिवसमेत हुनुहुन्छ।

वडा नं ७ मा भने पूर्ववडा अध्यक्ष उकेश कवां, वडा नं ८ मा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईं, र ९ नम्बर वडामा अर्का पार्टी केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वलाई वडा अध्यक्षको टिकट दिने सम्भावना बढेको छ।१० नम्बर वडामा भने चैत्यराज शाक्यले अस्वीकार गरे पूर्ववडा अध्यक्ष चन्द्रबहादुर उलक नै दोहोरिनुहुने सम्भावना छ।

भक्तपुर नपामा नेमकिपाविरुद्ध नेपाली कांग्रेस, माओवादी र राप्रपाले तालमेल गर्ने निश्चित प्रायः भइसकेको छ। उक्त समीकरणमा एमालेलाई पनि समेट्ने प्रयास भइरहेको नेपाली कांग्रेस भक्तपुर नगर सभापति रामप्रसाद कासुलाले बताउनुभयो।

तर कांग्रेसलाई एक्लै जान पार्टीभित्र धेरै दबाब बढेको उहाँ बताउनुहुन्छ।भक्तपुर नगरमा कांग्रेस दोस्रो स्थानमा रहँदै आएको छ। त्यसैले युवा पुस्तालाई आकर्षित गर्ने एजेन्डासहित राम्रो र क्षमतावान उम्मेदवाहरु दिएर एक्लै अघि बढ्न कांग्रेसलाई युवा विद्यार्थी पुस्ताले दबाब दिँदै आएको बुझिएको छ।

जसअनुसार कांग्रेसले आफ्ना उम्मेदवारहरुको टुंगो अन्तिम चरणमा पुर्‍याइएको कांग्रेस नेताहरुले बताएका छन्।उहाँहरुका अनुसार भक्तपुर नपाका कांग्रेसको तर्फबाट मेयरमा नगर सभापति कासुलासँगै विद्यार्थी नेता अनिल भुजु अग्रस्थानमा रहनुभएको छ। त्यस्तै पूर्वनगर सभापति नारायणप्रसाद तमखु र ऋषि तिमिलाले पनि आकांक्षा देखाइरहनुभएको छ।

उपमेयरमा भने गंगा अवाल निश्चित प्रायः हुनुभएको छ। उहाँ नेपाल महिला संघको भक्तपुर जिल्ला उपाध्यक्षसमेत हुनुहुन्छ।त्यस्तै कांग्रेसले वडा अध्यक्षहरुमा १ वडामा पवन भुजु, २ नम्बरमा रामभक्त खर्बुजा वा रामबहादुर कासुलामध्ये एकलाई टिकट दिने सम्भावना छ। नेमकिपाले रवीन्द्र खर्बुजालाई टिकट दिने कांग्रेसबाट पनि रामभक्त खर्बुजालाई नै टिकट दिने बताइएको छ।

त्यस्तै ३ नम्बरमा पूर्ववडा अध्यक्ष ओमप्रकाश भुजू वा बस व्यवसायी रामकाजी भुजूको चर्चा छ।४ नम्बरमा राजेन्द्र तमखु र धर्मरत्न खाइतूको सम्भावना छ। ५ नम्बरमा सुनिल चित्रकार पार्टीभित्र सर्वसम्मत भएको बुझिएको छ।

यसैगरी ६ नम्बरमा पुरुषोत्तम दक्षपती, ७ नम्बरमा राजन जोशी वा भवानीश्वर रञ्जितकार र ८ नम्बरमा शिक्षक हरिकृष्ण गोसाईंलाई अघि सारिएको छ। त्यस्तै ९ नम्बरमा तिलकराम श्रेष्ठ, प्रदीप लाखे, प्रवीण लाखे सुरेश प्रधान र किरण प्रजापतिले आकांक्षा राख्नुभएको छ।१० नम्बरमा भने कृष्णकुमार सुवालले वडा अध्यक्षको टिकट पाउने सम्भावना छ। from annapurna