१२ गुणा बढीको उम्मेदवारी
भक्तपुर, – आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटा नगरपालिकामा ५० जनाले मेयरमा र २९ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा चार मेयरका लागि १२ गुणा बढी उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका निर्वाचन अधिकारी उमेशकुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेयरमा सबभन्दा बढी चाँगुनारायणमा १८, मध्यपुरथिमिमा १४ र सूर्यविनायकमा १० र भक्तपुर नगरपालिकामा ८ जनाको उम्मेदवारी परेको छ ।
उपमेयरमा चाँगुनारायणमा १०, भक्तपुरमा ६, मध्यपुरथिमिमा ६ र सूर्यविनायकमा ९ जनाले उम्मेदवारी दिएका छन् । चार नगरपालिकाको ३८ वटा मध्ये चाँगुनारायणमा ६८, भक्तपुरमा ६६, मध्यपुरथिमिमा ५६ र सूर्यविनायक नगरपालिकामा ६५ जना गरि २५५ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरि प्रत्येक वडाका दुई वडा सदस्य गरि कूल ७६ वडा सदस्यमा चाँगुनारायणमा १०४, भक्तपुरमा ९०, मध्यपुरथिमिमा ८२ र सूर्यविनायकमा १०८ जना गरि कूल ३८४ जनाले वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्येक वडामा १ जना दलित महिलाका दरले ३८ सदस्यका लागि चाँगुनारायणमा ३६, भक्तपुरमा ८, मध्यपुरथिमिमा १६ र सूर्यविनायकमा २८ गरि ८८ जना दलित महिलाले उम्मेदवारी दिएका छन् ।
प्रत्येक वडाको १ महिलाका दरले ३८ जना महिला सदस्यका लागि चाँगुनारायणमा ५५, भक्तपुरमा ४४, मध्यपुरथिमिमा ४२ र सूर्यविनायकमा ६४ जना गरि २०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर एक, उपमेयर एक, वडा अध्यक्ष एक, खुल्ला वडा सदस्य दुई, दलित महिला एक र महिला एक गरि कूल ७ वटा पदका लागि चाँगुनारायणमा २९१, भक्तपुरमा २२२, मध्यपुरथिमिमा २१६ र सूर्यविनायक नगरपालिकमा २८२ जनाले उम्मेदवारी दिएका छन् ।
चारवटा नगरपालिकामा कूल १९८ पदका लागि कूल १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका अधिकारी राईले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउने दिन हिजो एक बजेसम्म सुनसान रहेको निर्वाचन अधिकृतको कार्यालयहरुमा २ बजेदेखि उम्मेदवारी दर्ता गर्नेको घुईचो लागेको थियो ।
साँझ पाँच बजेसम्म कार्यालय हाता भित्र प्रवेश गरेका उम्मेदवारले दर्ता गरेको उम्मेदवारीको कागजी प्रक्रिया भने राती २ जबेसम्म कर्मचारीले काम गरेका थिए । भक्तपुरमा बुधबार चारवटै नगरपालिकामा उम्मेदवारको दाबी विरोध भने कतै पनि नपरेको कार्यालयले जानकारी दिएको छ ।