सर्वोच्चको आदेशसँगै काममा फर्किइन् प्रधानन्यायाधीश कार्की

394

काठमाडौँ,  – सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम प्रधानन्यायाधीश सुशीला कार्की आजैदेखि अदालतमा फर्किएकी छन् ।

उनले आज साँझ सर्वोच्च अदालतमा आई हाजिर गरेर आफ्नो अदालती काम सुरु गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवाको विषयलाई लिएर व्यवस्थापिका–संसद्मा कार्कीविरुद्ध आइतबार महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

आजै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजैदेखि काम गर्न/गराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

यसैबीच कार्कीलाई काममा फर्किन आदेश दिए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र केही कानुनविद्सँग परामर्श गरेका छन् ।

सर्वोच्चको आदेशपछिको अबस्थावारे प्रधानमन्त्री प्रचण्डले देउवासँग परामर्श गरेका थिए । प्रचण्ड र देउवाले अधिवक्ता समेत रहेका माओवादी सांसद रामनारयाण बिडारी र अधिवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री रमेश लेखकसंग सर्वोच्चको आदेश पछिको अबस्थावारे जिज्ञासा राखेका थिए ।

बैठकमा सांसदद्वयले यसअघि कार्यकारीको अधिकार हनन् गरेको सर्वोच्चले यसपटक व्यबस्थापिकाको अधिकार माथि समेत हस्तक्षेप गरेको विचार राखेका थिए ।

सांसद बिडारीले सर्वोच्चको शुक्रवारको आदेश संसदको विशेषाधिकार हनन र संविधान विपरित हुनेगरी आएकोले संसदमा बिचाराधीन काम कार्वाही रोक्न नहुने सुझाव दिएका थिए ।