विमानस्थलबाट फेरि समातियो सुन

411

 कर्मचारीकै संलग्नता

काठमाडौँ . नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन् ।

कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए ।

विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शङ्कास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्रु जाँच कक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर निकाल्ने दाउमा खत्री रहेका थिए । सापकोटाले भने, “विमानस्थलको टावरमा ड्युटी रहेका खत्री विमानबाट यात्रु ओर्लिने ठाउँमा जानुले नै उनको गतिविधिमा शङ्का उत्पन्न भएको थियो ।” चार वर्षपछि कतारबाट आएका रिमालले १०÷१० तोलाको चार वटा बिस्कुट आकारमा सो सुन ल्याएका थिए ।

पक्राउ दुवै जनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । केहि महिनाअघि मात्रै विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन बरामद भएको थियो ।