एसिड आक्रमणमा परेका बालबालिकालाई सम्मान गर्दै थापाले भने हिंसाका गतिविधि अन्त गर्नुपर्छ

87

भक्तपुर ।भक्तपुर क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले समाजमा हुने हिंसाका गतिविधि अन्त्यका लागि समाजको रूपान्तरण आवश्यक भएको बताउनुभएको छ । बाल तथा युवा सरोकार नेपालले  आयोजित एसिड आक्रमण तथा अशक्तताका बाबजुद सक्षम बालबालिकाहरूको सम्मान कार्यक्रममा सांसद थापाले समाजलाई रूपान्तरण गर्न सके मात्र हिंसाका घटना अन्त्य हुने र समाजमा अशक्तलाई हेर्ने नजर परिवर्तन हुने बताउनुभएको हो ।
उहाँले राज्यले कानुन बनाएर समाजमा हुने हिंसाका घटनालाई नियन्त्रण गर्नुपर्ने बताउँदै अशक्त सबैलाई सक्षम र सबल बनाउने अभियानका साथ नीति नियम ऐन कानुन बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
देशको राजनीतिक क्षेत्र अशक्त बन्दै गएको टिप्पणी गर्दै उहाँले राजनीतिक क्षेत्र सशक्त बनाएर अघि बढ्न सके मात्र मुलुकको कुनै पनि क्षेत्रका आम नागरिकले शारीरिक अशक्तका बाबजुद सक्षम र सबल नागरिकको जीवनयापन गर्न सकिने बताउनुभयो ।

उहाँले जन्मँदै कोही शारीरिकरुपमा अशक्त भएता पनि समाजका हरेक नागरिक कुनै न कुनै रूपले अशक्त नै हुने बताउनुभयो । जन्मँदै कोही शारीरिक रूपमा अशक्त जन्मन सक्छ तर हामी कोही राजनीतिक रूपमा अशक्त छौँ, सामाजिक अशक्त छौँ र मानसिकरुपमा अशक्त छौँ ।
उहाँले राज्यले कानुन बनाएर समाजमा एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूको सम्मानपूर्वक जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने र उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो ।
एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरूले संसारमा ठुलो प्रगति गरेको उदाहरण थुप्रै भएको चर्चा गर्दै सांसद थापाले हाम्रो जस्तो सामाजिक परिवेशमा एसिड आक्रमणमा परेर र शारीरिकरुपमा अशक्तहरूले जसरी समाजमा सङ्घर्ष गरिरहेको छ, त्यो अत्यन्त बहादुरीपूर्ण र साहसी कार्य भएकोले सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा सांसद थापाले एसिड आक्रमणमा परेका जेनी खड्का, मुस्कान खातुन, बसन्ती परियार र पवित्रा कार्कीलाई नगदसहित सम्मान गर्नुभएको थियो । साथै उहाँले प्राकृतिकरुपमा शारीरिक अशक्त भइकन पनि शिक्षा हासिल गरी समाजमा एक सक्षम नागरिकको रूपमा जीवनयापन गर्न सङ्घर्ष गरिरहेका एक दर्जन बालबालिकाहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रम एसिड आक्रमणमा परेकी जेनी खड्काले एसिड आक्रमणमा परेकाहरू पीडित नभएको धारणा राख्दै उनीहरुपनि यही समाजमा सक्षम सरह जीवनयापन गरिरहेको बताउनुभयो । उहाँले सार्वजनिकरुपमा एसिड आक्रमणमा परेकाहरूलाई हेर्ने नजर परिवर्तन हुनुपर्नेमा जोड दिँदै समाजमा दया मायाको भावले गरिने व्यवहारले उनीहरूमा मनोवैज्ञानिक असर पर्ने गरेको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष प्रमोद पौडेलले एसिड आक्रमणकारीलाई मानवीय संवेदनाहीन आततायी मानिसको संज्ञा दिँदै उच्च शिक्षा हासिल गर्नुका साथै समाजमा केही गरेर देखाउने अठोटका साथ सङ्घर्षरत एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरूलाई प्रेरणाको स्रोतको रूपमा सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्य विनायक नगरपालिका वडा नं। ५ का स्थानीय समाजसेवी राजेश तजलेगायतले सुन्दरतालाई बाहिरी आवरणले होइन भित्रि आवरणले मापन गर्नुपर्छ भन्ने उदाहरण एसिड आक्रमणमा परेका र शारीरिकरुपमा अशक्तहरू भएको चर्चा गर्नुभयो ।