आजदेखि निर्वाचन आचारसंहिता लागू : के गर्न पाईन्छ, के गर्न पाइँदैन ?

137

भक्तपुर ।निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यही फाल्गुण २५ गते हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सो आचारसंहिता जारी गर्ने निर्णय गरेको हो । दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

गत भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, संख्या ३२ मा प्रकाशित आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीलाई लाग्नेछ ।

त्यस्तै, राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ । संवैधानिक व्यवस्थाअनुसार सो निर्वाचनका लागि संघीय संसद्मा हाल कायम रहेका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल रहनेछ ।