अबको ६ दिनमा नयाँ राष्ट्रपति

127

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले संघदेखि प्रदेशसम्मका ८ सय ८२ जना सांसदलाई मत माग्दै पत्र पठाएका छन् । अबको ६ दिनपछि अर्थात् २५ फागुनमा नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदै छ ।

पौडेलको प्रतिस्पर्धा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास नेम्वाङसँग हुनेछ । पौडेलले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३२ तथा प्रदेशसभाका ५ सय ५० सांसदलाई पत्राचार गर्दै राष्ट्रपति पदमा आफूलाई मत दिन आग्रह गरेका हुन् । पौडेलले आफ्नो लेटरप्याडमा सबै सांसदहरूलाई सम्बोधन गरी पत्र लेखेर राष्ट्रपति निर्वाचनका लागि आफ्नो पक्षमा मत मागेको उनका प्रेस सहयोगी खिला कार्कीले जानकारी दिए ।

८८२ सांसदलाई मत माग्दै पौडेलको पत्र

‘संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदलाई राष्ट्रपतिका उम्मेदवार पौडेलले पत्राचार गर्नुभएको छ, पत्रमा उहाँले आफूलाई मत दिन सांसदहरूसँग आग्रह गर्नुभएको छ,’ पौडेलका प्रेस सहयोगी कार्कीले  भने । पत्रमा उनले आफूले नेपालका सबै मानिसको नैसर्गिक अधिकारका लागि संघर्ष गरेको तथा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गर्दा आधा समय जेलमा बिताएको उल्लेख गरेका छन् ।

पौडेलले सांसदलाई पठाएको पत्रमा सत्तामा हुँदा आफू कहीँकतै नचुकेको पनि जिकिर गरेका छन् । ‘नेपालका सबै मानिसको नैसर्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि संघर्षको बेडा उठाउँदै आएँ, फलतः निर्दलीय निरंकुश सत्तासँग म अलिकति पनि झुकिनँ र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ, बहुदलीय व्यवस्थाको पुनरागमनपछिका सत्ताका दिनमा पनि कहीँकतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधीनता र अस्मिताका लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोशिस गर्दै आएको छु,’ आठ दलीय गठबन्धनका तर्फबाट राष्टपतिको उम्मेदवार बनेका पौडेलले सांसदलाई पठाएको पत्रमा भनिएको छ ।

पौडेलले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको समेत पत्रमा उल्लेख गरेका छन् ।

‘म नेपालको वास्तविकतामा आधारित विकासको नमुना (मोडेल) अपनाउनुपर्छ भन्ने ठान्छु, बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार गाउँगाउँमा पुगिसक्दा पनि त्यहाँबाट बसाइँ सर्ने क्रम नरोकिएको र देशबाटै प्रतिभा र जनशक्तिको पलायन बढ्दै गएको अवस्थामा गाउँगाउँमै रोजगारी र आम्दानीको अवस्था कसरी सिर्जना गर्ने भनेर चिन्तित छु’, उनले भनेका छन्, ‘राजनीतिक विचारधाराको इन्द्रमा अल्मलिन नपरोस् भनेर समाजवादको सार ‘ निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुन सक्छ भनेर विनम्र अपिल गर्दछु ।’

पौडेलले नेपाली जनतामा खुसियाली ल्याउने विकास हासिल गर्ने मुख्य आधार भनेकै स्थायित्व र शासन हो भन्नेमा आफ्नो विश्वास रहेको पत्रमा उल्लेख गरेका छन् । ‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिंग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदका लागि उम्मेदवारको रूपमा उपस्थित छु, उनले भनेका पत्रमा भनेका छन्, ‘नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।

एमाले उम्मेदवार नेम्वाङको घरदैलो
एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले पनि आफ्नो पक्षमा माहोल बनाउनेगरी अभियान तीव्र पारेका छन् । नेम्वाङले बिहीबार विभिन्न राजनीतिक दलका नेतालाई भेट गरी निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोही क्रममा उनले एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका प्रमुख नेतालाई भेट गरी राष्ट्रपति निर्वाचनमा पूर्णरूपमा सहयोग गर्न आग्रह गरे । नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतालाई भेट गरी निर्वाचनमा सघाउन आग्रह गरेका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि उनले भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेतासहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।

नेम्वाङ एमाले नेता पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरेलगायतका नेतासहित, एकीकृत समाजवादी, रास्वपा र राप्रपा कार्यालयमा पुगेका थिए ।

एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।राजधानीबाट