भक्तपुर जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र बन्यो ताथली स्वास्थ्य चौकी

39

भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट हेल्थ पोष्ट घोषणा भएको हो ।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए । उनले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको बताए ।
सो मापनका क्रममा मापदण्डका सबै सूचकहरुमा उत्कृष्ट अंक ल्याएर ताथली हेल्थ पोष्ट जिल्लामै सर्वोत्कृष्ट भएको बताउँदै उत्कृष्ट चौकीलाई नगद पाँचहजार रुपैयाँसहित सम्मान समेत गरिएको बताए ।
त्यस्तै जिल्लाका अन्य उत्कृष्ट हेल्थ पोष्टमा दोस्रोमा छालिङ स्वास्थ्य चौकी र तेस्रोमा गुण्डु स्वास्थ्य चौकी भएका छन् । ताथलीमा आयोजित एक कार्यक्रममा सो स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सर्वोत्कृष्ट स्वास्थ्य चौकीको सम्मान पाउन सफल ताथली हेल्थ पोष्टका इन्चार्ज हरिनारायण प्रसाद साहले टिम वर्क र व्यवस्थापन समितिका पदाधिकारीहरुको साथ, सहयोगले चौकी सर्वोत्कृष्ट भएको बताए ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी डा। पोमावती थापाले सम्मान पत्र प्रदान गर्दै सर्वोत्कृष्ट हुन सफल ताथली हेल्थ पोष्टको सरसफाइ तथा व्यवस्थापनबाट आफू प्रभावित भएको बताइन् । उनले जनताको नजिकको स्वास्थ्य केन्द्रहरुलाई सबल बनाएर नागरिकको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य चौकीहरुले भूमिका निर्वाह गरिरहेको बताउँदै ताथली स्वास्थ्य चौकीको अभ्यास सबैका लागि अनुकरणीय रहेको चर्चा गरिन् ।
सम्मान कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले स्वास्थ्य सेवालाई अझ उत्कृष्ट र गुणस्तरीय बनाउनका लागि स्वास्थ्य चौकीहरुको स्तर वृद्धि गर्न जरुरी भएकोमा जोड दिँदै स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुको क्षमता र दक्षता बढाउन सरकारले ध्यान दिनुपर्ने बताए ।
सोही कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष गणेश त्यातले वडा समितिले स्वास्थ्यलाई प्राथमिकता राखेको बताउँदै चौकीको स्तरोन्नति गरी स्वास्थ्य सेवाको भरपर्दो केन्द्र बनाउने योजना रहेको सुनाए भने चौकी व्यवस्थापन समितिका सदस्य एकबहादुर खत्री, चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनिल सुवालले चौकीले गरिरहेका कामहरुबारे जानकारी दिएका थिए ।