संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

81

काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ ।

मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सांसदका लागि मतदान गर्न अलगअलग मतदान केन्द्रको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा ५ सय ५० मतदाता छन् । निर्वाचनमा संघीय सांसदको मतभार प्रतिसांसद ७९ र प्रदेशसभाका सांसदको मतभार ४८ कायम गरिएको छ ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सांसदको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । राजधानी दैनिकबाट